यस वर्ष सार्वजनिक भएको आइफोन–१२ का सिरिजमा एप्पलले थुप्रै नयाँ फिचरहरु समावेश गरेको थियो। यी मध्ये आइफोन–१२ प्रो र आइफोन–१२ प्रो म्याक्स मोडलमा मात्रै लिडार सेन्सर फिचर थियो।
टेक हिन्दुस्तानका अनुसार आउँदो आइफोन–१३ का सबै मोडलमा लिडार सेन्सर फिचर हुनेछ।
सन् २०२१ मा सार्वजनिक हुने भनिएको आइफोन–१३ का चार वटा क्यामरा मोडलमा लिडार सेन्सर जडान गरिने बताइएको छ। यो फिचरले अध्यारो कोठामा क्यामरा फोकस मिलाउँछ।
यस सिरिजका मोडलमा ‘डाइरेक्ट टाइम अफ फ्लाइट टेक्नोलोजी’ हुने बताइएको छ। यसबाट प्रयोगकर्ताले स्पष्ट फोटो पाउने छन्।
यो पटक एप्पलले आइफोन–१३ का क्यामरामा बढी ध्यान दिएको देखिन्छ।
एप्पलले फोनको पछाडीको क्यामरा सेन्सरको संख्या पनि बढाउन सक्ने टेक हिन्दुस्तानको भनाइ छ। यो परिवर्तनले गर्दा आइफोन–१३ थ्रिडी सेन्सिङ मोडलमा आउन सक्ने छ।
यो सँगै एप्पलले नयाँ आइफोनमा टच आइडी र नोच फिचरमा काम गरिरहेको बताइएको छ। नोच भनेको स्क्रिन डिस्प्लेमाथि हुने सानो काटिएको जस्तो भाग हो। जसमा सेल्फी क्यामरा र सेन्सर जडान गरिएको हुन्छ।
एप्पलले अब आइफोन–१३ मा सानो नोच राख्ने अनुमान गरिएको छ।
हाल आइफोन–१३ काम असंख्य प्रोटोटाइप रहेका कारण नोचको आकार कस्तो हुन्छ, यकिन छैन।
साथै आइफोन–१३ पनि आइफोन –१२ झैँ फाइभ–जी कनेक्टिभिटी फिचरका साथ आउने रिर्पोटको भनाइ छ। यसका सबै मोडलमा फेस आइडी सुविधा हुनेछ।