फेसबुकले अष्ट्रेलियन सेलिब्रेटी सेफ पिट इभान्सको अकाउन्ट हटाएको छ।
द गार्डियनका अनुसार सेफ पिट इभान्सले कोरोना भाइरस बारेमा गलत जानकारी फैलाएको कारण फेसबुकले उनको अकाउन्ट प्रतिबन्ध लगाएको हो।
फेसबुकमा दश लाखभन्दा बढी फलोअर्स भएका इभान्सले बारम्बार कोरोना महामारी र भ्याक्सिनका बारे आउने षडयन्त्रका विषय सेयर गर्थे। तर, फेसबुकले कोभिड र त्यसको खोपको विषयमा गलत जानकारी फैलाउन नपाउने बताएको छ।
बिहीबार फेसबुकले भनेको छ, ‘हामीसँग यस किसिमको सामग्री विरुद्ध स्पष्ट नीतिहरु छन् र यी नीतिहरुकाे बारम्बार उल्लंघन गरेकोले हामीले सेफ पिट इभान्सको फेसबुक हटाएका हौँ।’
इभान्सको दुइ लाख ७८ हजार फलोअर्स भएको इन्स्टाग्राम अकाउन्ट भने अझै सक्रिय छ। जसमा उनले आफ्नो पोस्टहरु मार्फत् सिड्नीका स्थानीयहरुलाई सार्वजनिक स्वास्थ्य अधिकारीको अवहेलना गर्न र भाइरसको लागि परीक्षण नगर्न उक्साएका छन्।
उनले धेरै पटक कोभिड खोप र मास्कको विरोधमा पोस्ट गरेको र 'पोडकास्ट'मा पनि कोरोना भाइरसलाइ ठगी गर्ने माध्यम बनाइएकाे हल्ला फैलाएको द गार्डियनले बताएको छ।
इभान्सको कम्पनीले फेसबुक लाइभबाट बायोचार्जर नामक उपकरण प्रचार पनि गरेको थियो, जसले कोरोनाभाइरस सम्बन्धी काम गर्न सकिन्छ भन्ने दाबी गरेको थियो।
तर, यो उपकरणमा कुनै स्पष्ट आधार नभएको कारण थेराप्यूटिक गुड्स एडमिनिस्ट्रेसनले गत अप्रिलमा उनको कम्पनीलाई २५ हजार अमेरिकी डलर जरिवाना लगाएको थियो।
पिट इभान्स २०१० देखि २०२० सम्म ‘माइ किचेन रुल्स’ कार्यक्रमका 'जज' थिए।