एप्पलले आफ्नो नयाँ आइफोन १२ सिरिजका बक्सबाट चार्जर र एयरफोन हटाएको धेरै समय भएको छैन। अब सामसङले पनि यही तरिका अपनाउने हल्ला छ।
टेक अखबार जिएसएम एरेनाका अनुसार सामसङको नयाँ ग्यालेक्सी एस–२१, ग्यालेक्सी एस–२१ प्लस र ग्यालेक्सी एस–२१ अल्ट्राको बक्समा चार्जर र एयरफोन नआउने अनुमान गरिएको हो।
हालै सामसङको यी तीन नयाँ मोडल ब्राजिलमा बिक्रीको लागि ब्राजिलको राष्ट्रिय दुरसञ्चार एजेन्सी ‘अनाटेल’द्वारा प्रमाणित गरिएको थियो। त्यही क्रममा अनाटेलले तयार पारेको सूचनामा सामसङ ग्यालेक्सी एस–२१ को बक्स भित्र चार्जर र एयरफोन नहुने उल्लेख गरिएको जिएसएम एरेनाको भनाइ छ।
उक्त सूचना अनुसार ग्यालेक्सी एस–२१ दुइ फरक २५ वाटको चार्जरसँगै परीक्षण भएको थियो। सामसङले यो चार्जर छुट्टै बिक्री गर्न सक्ने अनुमान गरिएको छ।
यससँगै कम्पनीले वायरलेस इयरबड ‘ग्यालेक्सी बड प्रो’ पनि अर्को वर्ष सार्वजनिक गर्ने बताएको छ।
यस्तै अनुमानका आधारमा सामसङले ग्यालेक्सी एस–२१ सिरिजको बक्समा चार्जर र एयरफोन नहुन सक्ने हल्ला फैलिएका हो।
आइफोन–१२ को सार्वजनिक पछि सामसङले पनि उही टे«न्ड पछ्याउन सक्ने हल्ला केही समय यतादेखि भइरहेको थियो। तर, कम्पनीले भने यसबारे आधिकारिक रुपमा कुनै खुलासा गरेको छैन।
सामसङ ग्यालेक्सी एस–२१ सिरिज अर्को वर्षको जनावरीमा सार्वजनिक हुने बताइएको छ।