२०२१ सुरु हुनै लाग्दा स्मार्टफोन कम्पनीहरु नयाँ वर्षको लागि थुप्रै फिचर भएका मोडल ल्याउने तयारीमा छन्। अधिकांश ठूला कम्पनीले आफ्ना उत्कृष्ट स्मार्टफोन नयाँ वर्षको बीचमा सार्वजनिक गर्ने मिति समेत तोकिसकेका छन्।
द इन्डियन एक्प्रेसका अनुसार स्मार्टफोन कम्पनीहरुले ल्याउन लागेका फोनमा प्रयोगयोग्यता र नयाँ सुविधाहरुमा निकै ध्यान दिएका छन्।
२०२१ मा आउने पाँच नयाँ स्मार्टफोन यस्ता छन्ः
१. सामसङ ग्यालेक्सी एस–२१
सामसङको नयाँ ग्यालेक्सी एस–२१ प्रयोगकर्ताले धेरै अघिदेखि प्रतिक्षा गरेको समार्टफोनमा पर्छ। २०२१ को जनवरीमा सार्वजनिक हुने भनिएको यो स्मार्टफोन ग्यालेक्सी एस–२१, ग्यालेक्सी एस–२१ प्लस र ग्यालेक्सी एस–२१ अल्ट्रा गरेर तीन वटा सिरिजमा आउनेछ।
सामसङको यो नयाँ सिरिज पुराना मोडल भन्दा केही भिन्न हुने अनुमान गरिएको छ। जस्तै, कम्पनीले यसपाली ग्यालेक्सी एस–२१ को बक्समा एयरफोन र चार्जर नराख्ने हल्ला छ। सामसङले यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी भने दिएको छैन।
२. वान प्लस ९
वान प्लसको उत्पादनमा उठेको थुप्रै प्रश्नको कारण २०२० मा यसको उत्पादनले त्यति सफलता पाउन सकेन। तर, कम्पनीले २०२१ मा सार्वजनिक हुने आफ्नो नयाँ मोडल वान प्लस ९ र वान प्लस ९ प्रो ले धमाकेदार प्रस्तुती गर्ने बताएको छ।
द इन्डियन एक्प्रेसका अनुसार वान प्लस ९ ले आफ्नो डिस्प्ले, चार्जिङ स्पिड र नोचको डिजाइनमा बढी ध्यान दिएको छ। ठूला स्मार्टफोन कम्पनी एप्पल र सामसङसँग प्रतिस्पर्धा गर्न वान प्लसले आफ्नो उत्पादनमा अझै बढी काम गर्नु पर्नेछ।
३. सामसङ ग्यालेक्सी जेड फ्लिप लाइट
नयाँ टेक्नोलोजीका फोल्डेबल स्मार्टफोन निकै महंगो हुन्छ। तर सामसङले अर्को वर्ष यसलाई परिवर्तन गर्न सक्छ। केही समयअघि सामसङका मोबाइल सञ्चार व्यवसायको प्रमुख टिएम रोहले अर्को पुस्ताको फोल्डेबल स्मार्टफोन सबैका लागि पहुँचयोग्य हुने बताएका थिए।
टिएम रोहले स्मार्टफोनको नाम सार्वजनिक नगरेपनि सामसङले २०२१ मा चार वटा फोल्डेबल स्मार्टफोन ल्याउने हल्ला रहेको बताए।
जसमा ग्यालेक्सी जेड फ्लिप लाइट अर्को वर्षसम्म सस्तो फोल्डेबल स्मार्टफोनको रुपमा बजारमा आउन सक्ने द इन्डियन एक्प्रेसको भनाइ छ।
ग्यालेक्सी जेड फ्लिप लाइट ‘ग्यालेक्सी जेड फ्लिप’को सस्तो संस्करण हुने बताइएको छ।
४. रेलमी रेस
गत वर्ष सार्वजनिक भएको रेलमी एक्स–५० पछि नयाँ वर्षमा रेलमी रेस नामक स्मार्टफोन आउन सक्ने सम्भावना धेरै रहेको द इन्डियन एक्प्रेसले बताएको छ।
रेलमी रेस मोडलमा क्वालकोम स्नैपड्रेगन ८८८ को प्रोसेसर हुनेछ। यो स्मार्टफोन सँग १२० वाटको चार्जर आउने अनुमान गरिएको छ। कम्पनी यो मोडल २०२१ को जनवरीमा सार्वजनिक गर्न सक्ने द इन्डियन एक्प्रेसको भनाइ छ।
५. एलजी रोलेबल स्मार्टफोन
एलजी कम्पनी पनि विश्वव्यापी स्मार्टफोनको दौडमा अघि बढिरहेको छ। यो दौडमा अगाडि आउन कम्पनीले अर्को वर्ष रोलेबल स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ।
एलजीको यो नयाँ स्मार्टफोन पहिलो फ्लेक्जीबल रोलिङ डिस्प्ले भएको स्मार्टफोन हुनेछ, जसले स्मार्टफोन बजारमा नयाँ रेकर्ड सेट गर्ने अनुमान छ।
कम्पनीले अहिले सम्म यो स्मार्टफोनको नाम के हुनेछ बताएको छैन। तर, यसको मूल्य करिब दुइ हजार पाँच सय अमेरिकी डलर हुने बताइएको छ।