नेपाल टेलिकमले मध्यपहाडी लोकमार्ग अन्तर्गतको सूचना राजमार्गमा ४ सय ९१ किलोमिटर अप्टिकल फाइबर विस्तार गरेको छ।
२ वर्षभित्र काम सम्पन्न गर्नेगरी जिम्मा पाएको कम्पनीले चार वर्ष पुग्नै लाग्दा अरु कामको पनि सुरुवात गरेको छ
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमले अन्य कम्युनिकेशन उपकरण जडानको कामलाई पनि अघि बढाएको छ।
ग्रामिण दूरसञ्चार कोषको रकमबाट सम्पन्न हुने यो कामका लागि प्राधिकरणले विना प्रतिस्पर्धा टेलिकमलाई १, २ र बागमती प्रदेशको जिम्मेवारी दिएको थियो।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पनि जिम्मेवारी पाएको टेलिकमले त्यहाँको खरिदको काम अघि बढाएको जानकारी दिएको छ।
गण्डकी र लुम्बिनी प्रदेशको जिम्मेवारी पाएको युटिएलले भने अहिलेसम्म काम गरेको छैन। टाट पल्टिएको कम्पनीलाई सूचना राजमार्गको जिम्मेवारी दिएको प्राधिकरणले ४० करोड रुपैयाँ पनि भुक्तान गरिसकेको छ।
पैसा लिएर पनि काम नगर्ने युटिएलसँगको ठेक्का तोड्ने निर्णय प्राधिकरणले यसअघि नै गरिसकेको छ। यद्यपी अदालतको आदेशका कारण अहिलेसम्म उक्त निर्णय पनि कार्यान्वयन भएको छैन भने युटिएलले काम पनि गरेको छैन।
योगदानमुलक कोषको रकमबाट सम्पन्न हुने आयोजनाको ठेक्का लिएर मिलेमतोमा ठेक्का नै अरुलाई बेचिसकेको युटिएलले अहिलेसम्म काम नै सुरु गरेको छैन।