एप्पलले आफ्नै गाडी ल्याउने तयारी गरिरहेको हल्ला अहिले निकै चलिरहेको छ।
केही समयअघि कम्पनीले ‘टाइटन’ नामक प्रोजेक्ट अन्तर्गत सेल्फ ड्राइभिङ गाडीको लागि टेक्नोलोजी विकास गरिरहेको एप्पल इन्साइडरले बताएको थियो।
एप्पलले गाडी बनाउने विषयमा कुनै आधिकारिक जानकारी नदिएपनि एप्पलका प्रशंसकले गाडी कस्तो हुनेछ भन्ने विभिन्न अनुमान लागाउन थालेका छन्।
हालै एप्पलले आफ्नो गाडीको आविष्कारसम्बन्धि एक पेटेन्ट कागजात अमेरिकी पेटेन्ट र ट्रेडमार्क कार्यालयमा पेश गरेको सिएनएन बिजनेसले बताएको छ। कुनै पनि नयाँ प्रविधिको आविष्कार गर्नुअघि त्यस सम्बन्धि सबै जानकारी पेटेन्ट कार्यलयमा दिनुपर्ने हुन्छ।
एप्पलले तयार पारेको सो पेटेन्टमा गाडीको चित्र पनि रहेको छ, जसबाट एप्पल गाडी कस्तो हुनेबारे अनुमान लगाउन सकिन्छ।
पेटेन्टमा उल्लेख गरेको अनुसार एप्पलले सेल्फ ड्राइभिङ गाडी ल्याउने छ।
कम्पनीले ‘गाडीमा चक्कर’ लाग्ने समस्यालाई मध्यनजर गर्दै भर्चुअल रियलिटी प्रणाली समावेश गर्नेछ। जसमा यात्रुले गाडी चढ्दा अनुभव गर्ने शारीरिक गति सहित भर्चुअल डिस्प्ले प्रदान गरेर टाउको दुख्ने समस्या रोक्न मद्दत गर्ने सिएनएन बिजनेसको भनाइ छ।
यो सँगै गाडीमा हुने भर्चुअल रियलिटी प्रोजेक्ट फिचरको मद्दतले प्रयोगकर्ताले गाडी चलाउँदै अगाडि सिसामा किताब पढ्न वा आफ्नो काम पनि सँगै गर्न सक्छन्।
एप्पलको गाडीले तापक्रम पनि नियन्त्रण गर्न सक्ने पेटेन्टमा बताइएको छ। गाडीको भित्र र बाहिर रहेको सेन्सरले गाडीको सिट, यात्रुको शरीर तापक्रम र झ्यालबाट आइरहेको घामको प्रकाशको मात्रा नाप गर्न सक्छ। त्यही नाप अनुसार गाडी भित्र यात्रुलाई आरामदायक वातावरण सिर्जना गरिन्छ।
यसैगरी यो गाडीको बाहिरपटि सिसामा टिन्ट फिल्म कभर राखिएको छ। जुन गाडीको सेन्सरको आधारमा आफै परिवर्तन हुन्छ।
जस्तै रातीको समय यात्रुलाई बाहिरको उज्यालो हेर्नको लागि सिसाको टिन्टको स्तर आफै कम हुन्छ। यदि यात्रु गाडी भित्रै सुत्न चाहन्छन् भने टिन्टको स्तर बढ्छ, जसले गर्दा बाहिरी मानिसले गाडी भित्र हेर्न सक्दैनन्।
यो फिचर यात्रुको गोपनीयतालाई मध्यनजर गर्दै राखेको पेटेन्टमा उल्लेख गरिएको छ।
आफ्नो गाडी पार्क गरेको ठाँउ बिर्सिने व्यक्तिको लागि पनि एप्पलले नयाँ फिचर थपेको छ।
गाडीमा भएको एक सेन्सर मार्फत् यात्रुले आफ्नै आइफोनबाट गाडी भेटाउन सक्ने सिएनएन बिजनेसले बताएको छ। यात्रुले मोबाइलको ब्लुटुथ मार्फत् आफ्नो गाडी र मोबाइल कनेक्ट गर्न सक्नेछन्।
यो फिचर बाट यात्रुले पार्किङ शुल्क बारे पनि आफ्नै मोबाइलमा हेरेर थाहा पाउन सक्छन्।
गाडीमा सेल्फ ड्राइभिङ फिचर र सेल्फ चार्जिङ फिचर पनि राख्ने सोच एप्पलले बनाएको छ।
सेल्फ चार्जिङ फिचरमा यात्रुले गाडीबाट झरेर चार्ज गरिरहनु पर्दैन। गाडीलाई चार्जिङ पोइन्ट नजिक लगेपछि चार्जिङ प्लग आफै गाडीमा जोडिने एप्पलको पेटेन्टमा लेखिएको छ।