नेपाल टेलिकमले एनटिटिभी ब्रान्डमा एफटिटिएचमार्फत् आइपिटिभी सेवा संचालनमा ल्याएको छ। उक्त सेवा टेलिकमले गत बुधबारदेखि संचालनमा ल्याएको हो।
टेलिकमले एफटिटिएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेको छ। एनटी टिभी सेवा पनि उपलब्ध गराएपछि ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा सफलता प्राप्त गरेको कम्पनीको भनाइ छ।
कम्पनीको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एनटी टिभी सेवाको सुरु गरेका हुन्।
सो अवसरमा उनले टेलिकमले अत्याधुनिक सेवाका रुपमा एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवा समेत उपलब्ध गराउन लागेकोमा निकै उत्साहित रहेको बताए।
यस्ता सेवालाई देशव्यापी बनाएर कम्पनीलाई प्रतिस्पर्धामा अब्बल सावित गराउनु कम्पनीको दायित्व रहेको उनको भनाइ थियो।
हालसम्म मुलुकका ३९ वटा जिल्लामा एफटिटिएच सेवा विस्तार गरिएके टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए। उनले एफटिटिएच सेवा विस्तारमा कम्पनी पहिलो नम्बरमा रहेको उल्लेख गरे।
यो सेवाको विस्तारले नेपाल सरकारको डिजिटल नेपाल स्थापना गर्ने अभियानमा सहयोग पुग्ने र डिजिटल रुपान्तरणमा प्रभावकारी योगदान पुग्ने उनको भनाइ थियो।
उक्त सेवा लिन एफटिटिएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्छ।
तत्कालका लागि काठमाडौं उपत्यकाका अधिकांश स्थानहरु र काठमाडौ बाहिर बनेपामा एनटी टिभी सेवा उपलब्ध हुने कम्पनीको भनाइ छ।
राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने यो सेवा वेसिक प्याकेज र प्रिमियम प्याकेजमा छुट्याइएको छ। यो सेवाको अवधि एक महिना, तीन महिना वा एक वर्ष कायम गरिएको छ।
इन्टरनेट व्याण्डविथ प्रयोगका आधारमा यसको मूल्य फरक फरक कायम गरिएको छ।
उदाहरणका लागि वेसिक प्याकेज अन्तर्गत एक महिना अवधिका लागि १५ एमबिपिएस इन्टरनेट व्याण्डविथ सहितको एनटी टिभी सेवाको दर १ हजार २ सय ३० प्रतिमहिना रहेको छ।
एक वर्षको लागि १५ एमबिपिएस इन्टरनेट सहितको एनटी टिभी सेवा १३ हजार २ सय २० मा उपलब्ध हुनेछ।
यसैगरी प्रिमियम प्याकेज अन्तर्गत एक महिना अवधिका लागि १५ एमबिपिएस इन्टरनेट व्याण्डविथ सहितको एनटी टिभी सेवा एक हजार ४ सयमा उपलब्ध हुनेछ। एक वर्षका लागि ६० एमबिपिएस इन्टरनेट सहितको एनटी टिभी सेवा २४ हजार ५०० मा उपलब्ध हुनेछ।
वेसिक र प्रिमियम दुवै प्याकेजमा एनटी नेटवर्कमा मासिक २५० मिनेट टेलिफोन गर्न सकिने सुविधा उपलब्ध हुने बताइएको छ।
एफटिटिएच अन्तर्गत भ्वाइस सेवा मात्र उपयोग गरिरहेका ग्राहकले पनि एनटी टिभी सेवा पाउने भएका छन्।
यसका लागि वेसिक प्याकेज अन्तर्गत एक महिनाको एनटी टिभी सेवा ४ सय ८० मा उपलब्ध हुनेछ। एक वर्षको ५ हजार ७ सय ८० मा उपलब्ध हुनेछ।
यसैगरी भ्वाइस सेवा मात्र उपभोग गरिरहेका एफटिटिएचका ग्राहकहरुले प्रिमियम प्याकेज अन्तर्गत एक महिनाको एनटी टिभी ८ सयमा पाउन सक्छन्। १२ महिनाको एनटी टिभी भने ८ हजार ३ सयमा पाउन सकिन्छ।