धेरै स्मार्टफोन प्रयोगकर्ताहरू यो वर्षदेखि ह्वाट्सएप चलाउन बञ्चित हुने भएका छन्। बिबिसीका अनुसार पुरानो संस्करणका अपरेटिङ सिस्टम भएका फोनमा अब ह्वाट्सएप नचल्ने भएका हुन्।
एन्ड्रोइड र आइओएस दुवै अपडेट नभएका पुराना उपकरणहरूमा पहिलेजसरी ह्वाट्सएप अब चलाउन नसकिने बिबिसीले लेखेको छ।
पुराना अपरेटिङ सिस्टम भएका फोनबाट यो एप स्थायी रूपमा हट्नेछ। तर अपरेटिङ सिस्टम अपडेट हुने केही पुराना फोनमा भने अपडेट गरी ह्वाट्सएप चलाउन सकिन्छ।
उदाहरणका लागि ‘आइफोन फोर’ मोडलमा ह्वाट्सएप चल्दैन। फोर–एस, फाइभ, फाइभ–एस, फाइभ–सी, सिक्स र सिक्स–एसमा भने एप अपडेट गरेर पुनः चलाउन सकिने बिबिसीले उल्लेख गरेको छ।
एन्ड्रोइड प्रयोगकर्ताका फोनमा एन्ड्रोइड २.३.७ वा त्यो भन्दा पुरानो सफ्टवेयर छ भने ती फोनमा ह्वाट्सएपले काम गर्दैन।
प्रयोगकर्ताकै सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको ह्वाट्सएपले जनाएको छ।
नयाँ वर्ष २०२१ को सुरुआती दिनबाटै ह्वाट्सएपले यो निर्णय कार्यान्वयन हुने बताएको छ। त्यसैले, आफ्ना कुराकानी सुरक्षित राख्न चाहने प्रयोगकर्ताहरूलाई ‘च्याट ब्याकअप’ गर्न सुझाइएको थियो।