ट्रम्प प्रशासनले केही चिनियाँ एपहरु सँगको लेनदेनमा प्रतिबन्ध लगाउँने भएको छ।
सिएनएन बिजनेसका अनुसार मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले आठवटा चिनियाँ एप सँगको कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। जसमा अलिपे, क्यूक्यू वालेट, विच्याट पे, टिसेन्ट क्यूक्यू क्यामस्क्यानर, सेयरइट, भिमेट र व्प्स अफिस एप रहेको छ।
ट्रम्प प्रशासनले जारी गरेको सो आदेशमा चीनले विकास गरेको अनुप्रयोग र अन्य सफ्टवेयरले अमेरिकाको राष्ट्रिय सुरक्षा, अर्थव्यवस्था र वैदेशिक नीतिमा खतरा ल्याउन सक्ने उल्लेख गरेको छ। यसैलाई मुख्य कारण बनाएर ट्रम्पले चिनियाँ एपहरुमा प्रतिबन्ध लगाउने तयारी गरेको हो।
यो आदेश कतिको प्रभावकारी हुन्छ वा हुँदैन स्पष्ट छैन। तर, अबको ४५ दिनपछि ट्रम्पले राष्ट्रपति कार्यालय छोडेपछि भने प्रभावकारी हुन सक्ने सिएनएन बिजनेसले बताएको छ।
‘ट्रम्प प्रशासन अझै पनि अमेरिका र चीनबीचको सम्बन्ध बिगार्न लागि परेको छ। चिनियाँ एपहरुमा गरिने प्रतिबन्धले दुइ देशबीच अत्याधिक बाधा पुर्याउने छ तर यो वास्तवमै कार्यान्वयन हुन्छ वा हुँदैन हेर्नै बाँकी छ,’ वासिंगटनको रणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका वरिष्ठ सल्लाहकार स्कट क्यानेडी भन्छन्, ‘जो वाइडेन प्रशासनले सम्भवत यो आदेशलाई एकपटक हेर्ने छ। यदि यो आदेश लागू भएमा यसले अमेरिकी कम्पनीलाई चीनमा काम गर्न समस्या पर्न सक्छ।’
वाइडेन सत्तामा आउनु अघि नै ट्रम्प प्रशासनले चिनियाँ कम्पनीहरुमा दबाब दिँदै आइरहेको छ।