केही समयअघि एप्पलले आफ्नो एप स्टोरमा प्राइभेसी लेबल ल्याएको थियो। जसमा प्रयोगकर्ताले कुनै पनि एपले आफ्नो कुन डाटा संकलन गर्छ, ती डाटा प्रयोग गरेर आफूलाई ट्रयाक गर्छ वा गर्दैन र ती डाटा आफुसँग लिंक छ वा छैन भनेर थाहा पाउन सक्छन्।
आफ्ना कस्तो व्यक्तिगत डाटा एपहरुलाई दिइएको छ र एपले ती डाटा कसरी प्रयोग गरिरहेको छ भन्ने प्रयोगकर्ताले एप्पलको नयाँ प्राइभेसी लेबलबाट थाहा पाउन सक्ने टेक हिन्दस्तानको भनाइ छ।
अब यो फिचरको मद्दतबाट मेसेजिङ एपले कस्ता डाटा संकलन गर्छ पनि थाहा पाउन सकिने भएको छ।
टेक हिन्दुस्तानका अनुसार फेसबुकको मेसेजिङ एप ह्वाट्सएप र मेसेन्जरले प्रयोगकर्ताको बढी डाटा संकलन गर्छ। एप्पलको आइमेसेज, सिग्नल र टेलिग्राम एपले भने फेसबुकले भन्दा थोरै डाटा लिने बताइएको छ।
प्रयोगकर्ताले आफ्नो मोबाइलमा ह्वाट्सएप डाउनलोड गरेपछि एपले फोन नम्बर, इमेल एडरेस, सम्पर्क, लोकेसन, डिभाइस आइडी, यूजर आइडिको सबै जानकारी राख्ने गर्छ।
यो मेसेजिङ एपले प्रयोगकर्ताको विज्ञापन डाटा, खरिद हिस्ट्री, भुक्तान जानकारी, प्रदर्शन डाटा, ग्राहक समर्थन तथा उत्पादनको अन्तक्रियाबारे जानकारी पनि संकलन गर्छ।
यसैगरी फेसबुक मेसेन्जरले प्रयोगकर्ताको लोकेसन, फिजिकल एडरेस, इमेल एडरेस, नाम, फोन नम्बर, सम्पर्क जानकारी, इमेल, मेसेज, फोटो वा भिडियो, सर्च हिस्ट्री, ब्राउजिङ हिस्ट्री, यूजर आइडी, डिभाइस आइडी, तेस्रो पार्टीको विज्ञापन, खरिद हिस्ट्री, भुक्तान जानकारी संकलन गर्न सकिन्छ।
साथै आर्थिक जानकारी, उत्पादनको अन्तक्र्रियाबारे जानकारी, विज्ञापनको डाटा, प्रदर्शन डाटा, मार्केटिङ, क्रेडिटको जानकारी तथा स्वास्थ्य, फिटनेस, जस्ता कयौँ संवेदनशील जानकारी संकलन गर्ने टेक हिन्दुस्तानले बताएको छ।
यता एप्पलको आइमेसेजले भने प्रयोगकर्ताको इमेल एडरेस, फोन नम्बर, सर्च हिस्ट्री र डिभाइस आइडीको जानकारी मात्रै राख्ने रिर्पोटले बताएको छ।
यो सँगै टेलिग्राम एपले प्रयोगकर्ताको नाम, फोन नम्बर, सम्पर्क र यूजर आइडी संकलन गर्छ।
मेसेजिङ एप सिग्नलले भने प्रयागकर्ताको मोबाइल नम्बर मात्र प्रयोग गर्ने बताइएको छ। तर, यस एपले प्रयोगकर्ताको नम्बर डाटाको रुपमा नराख्ने टेक हिन्दुस्तानको भनाइ छ।