२०२१ सुरु भएसँगै एप्पलका नयाँ उपकरण के–कस्ता फिचरमा आउने हल्ला फैलिसकेको छ। धेरै चर्चामा आएको उपकरण मध्ये हाल आइफोन १३ शीर्ष स्थानमा छ।
एप्पल प्रयोगकर्ता तथा प्रशंसकले आइफोन १३ मा आउने डिजाइन र फिचर अनुमान लगाउन थालिसकेका छन्।
हालै एप्पलले नयाँ आइफोन १३ को डिजाइन आफ्नो पुरानो मोडल जस्तै बनाउने ९टु५ म्याकले लेखेको छ।
चिनियाँ आपूर्तिकर्ताका अनुसार यस वर्ष सार्वजनिक हुन सक्ने आइफोन १३ का चार मोडलको डिजाइन आइफोन १२ जस्तै हुनेछ।
यसका उचाइ र चौडाइ परिवर्तन हुने छैन, तर मोटाइ भने ०.६६ एमएमले बढ्ने छ। आइफोन १३ को पछाडिपट्टिको क्यामरा डिजाइनमा पनि सानो परिवर्तन देख्न सकिने छ।
तीन वटा क्यामरा लेन्सको साथ आउने भनिएको आइफोन १३ मा सफाइर ग्लासले कबर गरिनेछ। जसले सबै लेन्सलाई छोपेर एउटा मात्र क्यामरा जस्तो देखाउने ९टु५ म्याकले बताएको छ।
यो सँगै एप्पलले आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्सका क्यामरा मोडलमा अल्ट्रा–वाइड लेन्स राखेको छ, जसमा सेन्सर सिफ्ट स्टेबिलाइजेसन फिचर समावेश छ। यो फिचरले फोटो र भिडियो स्थिर पार्छ।
यस्तो फिचर एप्पलले अघिल्लो पटक आइफोन १२ प्रो म्याक्समा ल्याएको थियो।
यसका साथै आइफोन १३ मा सानो नोच हुनेछ र चारै मोडलमा लिडार स्क्यानर फिचर पनि हुन सक्ने अनुमान गरिएको छ।
एप्पल विश्लेषक मिङ–चि कुओका अनुसार कम्पनीले केही ढिलाइ नगरी आइफोन १३ यही वर्षको सेप्टेम्बर तिर सार्वजनिक गर्न सक्छ।