एप्पलले आफ्नो नयाँ एयरपोड प्रो र आइफोन एसई यहीँ वर्ष सार्वजनिक गर्ने अनुमान लगाइएको छ।
म्याकरुमरका अनुसार एप्पलले २०२१ को अप्रिल तिर दोस्रो जेनेरेसनको एयरपोड प्रो र तेस्रो जेनेरेसनको आइफोन एसइ सार्वजनिक गर्न सक्ने अनुमान लगाइएको हो।
चिनियाँ आपूर्तिकर्ताले उल्लेख गरेअनुसार नयाँ एयरपोड प्रो पुन डिजाइन गरिएको 'चार्जिङ केस'मा आउने छ। नयाँ चार्जिङ केसको लम्बाइ र चौडाइ पुरानो मोडलको भन्दा अलि ठूलो हुनेछ।
हाल बजारमा रहेको एयरपोड केसको लम्बाइ ४५.२ एमएम र चौडाइ ६०.६ एमएम रहेको छ। अब आउने नयाँ एयरपोड केसको लम्बाइ भने ४६ एमएम र चौडाइ ५४ एमएम ठूलो हुने म्याकरुमरले बताएको छ। यसको मोटाइ भने २१ एमएम नै हुनेछ।
एयरपोड प्रयोगकर्ताको कानमा मज्जाले राख्न मिल्ने बनाउनलाई कम्पनीले यसको आकार पनि गोलो बनाउन सक्ने अनुमान गरिएको छ।
यसैगरी नयाँ आइफोन एसइको डिजाइनमा पनि हल्का परिवर्तन हुन सक्ने छ।
तेस्रो जेनेरसनको आइफोन एसइको डिस्प्ले आकार ५.५ इन्च वा ६.१ इन्च हुन सक्ने बताइएको छ। तर एप्पलले आफ्नो दोस्रो जेनेरेसनको आइफोन एसइको ४.७ इन्च जस्तै आकार दिन पनि सक्छ।
एप्पलका विश्लेषक मिङ–चि कुओका अनुसार यो आइफोन एसइ २०२१ को बीच तिरै सार्वजनिक हुनेछ।