स्मार्टफोन पुरानो भएपछि त्यसको काम र महत्व घट्दै जान्छ। यस्तो बेला प्रयोगकर्तालाई ती पुराना फोन फालेर नयाँ स्मार्टफोन किन्नु बाहेक अरु विकल्प हुँदैन।
सामसङले यो समस्यालाई मध्यनजर गर्दै आफ्ना पुराना स्मार्टफोनका लागि नयाँ अपडेट ल्याएको छ।
९टु५ गुगलका अनुसार सामसङले ‘ग्यालेक्सी अपसाइकलिङ’ प्रोग्राम ल्याउने छ, जसमार्फत् पुराना ग्यालेक्सी फोनमा नयाँ अपडेटसँगै थुप्रै फिचर आउने छ।
कम्पनीले सोमबार आयोजना गरेको सीइएस २०२१ कार्यक्रममा यो सुविधाबारे बोलेको हो।
सामसङको अनुसार ‘ग्यालेक्सी अपसाइकलिङ याट होम’ प्रोग्रामबाट उपभोक्ताले पुरानो ग्यालेक्सी फोनलाई नयाँ उद्देश्यका लागि पुन निर्माण गर्न सक्ने छन्।
कार्यक्रममा उल्लेख गरेअनुसार पुराना उपकरणमा एक वैकल्पिक सफ्टवेयर अपडेट उपलब्ध हुनेछ जसका नयाँ फिचरहरु घरभित्रको कामको लागि प्रयोग हुन सक्छ। यसमा सामसङले मुख्य तीन सुविधा औँलाएको छ।
पहिलो, सो अपडेटबाट पुराना फोनहरु बेबी मोनिटरको रुपमा प्रयोग गर्न सकिन्छ। यदि बच्चा भएको कोठामा फोनलाई चार्जर राख्ने हो भने, एक विशेष सफ्टवेयरले बच्चा रोएको पत्ता लगाउँछ र अन्य उपकरणमा सूचना पठाउन सक्छ।
यो सँगै ती अपडेट मार्फत् फोनलाई घरको सुरक्षा क्यामराको रुपमा पनि उपयोगी बनाउन सकिने ९टु५ गुगलले बताएको छ।
तेस्रो फिचरमा नयाँ अपडेट भएका पुराना फोनले घरभित्रको बत्तीको प्रकाश कम छ वा छैन पत्ता लगाउन सक्छ र फोनले नै स्मार्ट लाइटनिंग अन गर्छ।
सामसङले अहिलेसम्म कस्ता स्मार्टफोनमा यी अपडेट हुनेछ र सफ्टवेयर अपडेट कसरी आउनेछ भन्ने बारे विस्तृत रुपमा जानकारी दिएको छैन। तर, कम्पनीको यो कार्यक्रम यही वर्ष सुरु हुन सक्ने अनुमान छ।