सामसङले आफ्नो नयाँ वायरलेस इयरबड ग्यालेक्सी बड–प्रो सार्वजनिक गरेको छ।
सामसङको अघिल्लो ग्यालेक्सी बडको तुलनामा यो ग्यालेक्सी बड प्रोमा केही नयाँ सुधार ल्याएको एप्पल इन्साइडरले बताएको छ।
कम्पनीले नयाँ ग्यालेक्सी बड प्रोको अडियो, ध्वनि र कल गुणस्तरमा काम गरेको छ।
सामसङका अनुसार यो उपकरणको बडलाई पनि पुन डिजाइन गरेर बनाइएको छ। जसले गर्दा यसको ध्वनि गुणस्तर अझै राम्रो हुनेछ।
ग्यालेक्सी बड प्रोले बाहिरी आवाज ९९ प्रतिशत कम गर्न सक्ने कम्पनीको दाबी छ।
यो इयरबडले प्रयोगकर्ता बोलेको पहिचान गरेर आफै ध्वनि म्यूट गर्छ र बाहिरी आवाज सुन्न मिल्ने बनाउँछ। यसको साथै, प्रयोगकर्ता बोल्न सुरु गर्दा ग्यालेक्सी बड प्रोले अटोमेटिक संगीतको आवाज कम गर्छ।
अडियो र ध्वनि गुणस्तरको साथै सामसङले ग्यालेक्सी बड प्रोमा कल गुणस्तरलाई पनि प्राथमिकता दिएको छ।
प्रयोगकर्ता फोनमा कुरा गरिरहँदा यसले बाहिरको अनावश्यक आवाज हटाउन मद्दत गर्छ। यसमा भएको तीनवटा माइक र डिजाइनले गर्दा यो फिचर सम्भव भएको कम्पनीले बताएको छ।
ग्यालेक्सी बड प्रो सामसङको सबै उपकरणमा कनेक्ट गर्न सकिने एप्पल इन्साइडरको भनाइ छ।
यो इयरबड एकपटक चार्ज गर्दा २० घण्टासम्म टिक्ने सामसङले उल्लेख गरेको छ।
ग्यालेक्सी बड प्रोको मूल्य दुई सय अमेरिकी डलर रहेको छ। यो कालो, सिल्भर र भायोलेट रंगको साथ आउनेछ।