औद्योगिक तथा घरेलु फोहोरकै व्यवस्थापन हुन नकसकेको नेपालमा विद्युतीय फोहोरको जोमिख बढ्दै गएको छ।
विद्युतीय सामग्रीको उपयोग बढ्दै जाने र अर्कोति उचित व्यवस्थापन नहुँदा यसको जोखिम बढ्दै गएको विद्युतीय फोहोर सम्बन्धि अध्ययन गरिरहेकी त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक ज्योति गिरीले बताइन्।
नेपाल प्रविधि पत्रकार मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गिरीले विगतमा अत्याधिक प्रयोगमा रहेका व्यवस्थापकीय नियमनको अभावले भविष्यमा ठूलो समस्या ल्याउनसक्ने बताइन्।
'अहिले नै हाम्रो देशमा कूल फोहोरको पाँच प्रतिशत विद्युतीय फोहर हुन्छ। अहिले आउने फोहोर भनेको विगतमा न्यून विद्युतीय सामग्री प्रयोग हुँदाको हो। अहिले जसरी पछिल्लो समय सामग्रीहरुको उपयोग बढेको छ। भविष्यमा त्यो पाँच प्रतिशत बढेर जाने छ' उनले भनिन्।
विद्युतीय फोहरको प्रसोधन तथा व्यवस्थापन पनि विशिष्ट हुने भएकाले अहिलेकै अवस्थाबाट व्यवस्थापन हुन नसक्ने उनको भनाइ छ।
सर्वसाधारणले चलाउने मोबाइल, टेलिफोन, टेलिभिजन,ल्यापट, बिजुलीको फ्युज, ब्याट्री जस्ता सामग्रीको उपयोगिता सकिएपछि फालिने नै विद्युतीय फोहोर हो। आयु सकिएका यस्ता यन्त्र तथा उपकरणको उचित व्यवस्थापन हुन सके गम्भिर वातावरणीय प्रभाव पर्नसक्ने उनको भनाइ छ।
पछिल्लो दशकमा विस्तार भएको विद्युतीय सामग्रीको उपयोग आगामी यो दशकमा फोहोरका रुपमा आउछ। यही दशकमा व्यवस्थापनमा कदम नचाल्ने हो भने गम्भिर समस्याका रुपमा आउने पूर्व विज्ञान प्रविधि मन्त्री गणेश साहको भनाइ छ।
'मेरो बिचारमा अहिलेसम्म नेपालमा कुनै पनि नीतिगत व्यवस्था छ जस्तो लाग्दैन।वातावरणलाई चुनौति दिने यो नयाँ खतरालाई टार्नका लागि सरकारले व्यवस्थित नियमन गर्न आवश्यक छ' उनले भने।
वातावरण संरक्षणका लागि नियमन गर्ने वातावरण विभागले पनि अहिलेसम्म विद्युतीय फोहोर व्यवस्थापनका लागि कुनै ठोस काम नगरेको बताएको छ।
विभागका उपमहानिर्देशक इन्द्रबिक्रम जोशीले आफूहरुलाई यसका बारेमा जानकारी भए पनि अहिलेसम्म औद्योगिक फोहोर लगायतका कुराको व्यवस्थापनमै लागिपरेको बताउछन्।
'विद्युतीय फोहोर व्यवस्थापनका लागि हामीलाई जानकारी त छ। तर यसैका लागि हामीले नीतिगत व्यवस्था पनि छुट्टै गरेका छैनौं। त्यस्तै यसका बारेमा प्रसस्त अध्ययन अनुसन्धान पनि गरेका छैनौं' उनले भने' अब हामीले यसमा अघि बढ्नुपर्ने समय बएको छ।'