नेपालमा उच्च गतिको फोरजी मोबाइल ब्रोडब्याण्ड सेवा प्रयोग गर्ने उपभोक्ताको संख्या ६३ लाख पुगेको छ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो पटक सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम एमआइएस रिपोर्टका अनुसार यो सेवा २१.१९ प्रतिशत नेपालीले प्रयोग गर्ने गरेका छन्।
चार वर्ष अगाडि उक्त सेवा पहिलो पटक नेपाल टेलिकमले संचालनमा ल्याएको थियो। अहिले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले यो सेवा दिदैँ आएका छन्। फोरजी सेवा संचालनमा आएपछि मोवाइल डाटाको खपत वृद्धी भइरहेको छ भने शूल्क घटिरहेको छ।
प्राधिकरणको रिपोर्टका अनुसार ग्राहक संख्याको आधारमा सबैभन्दा बढी एनसेलका ग्राहकहरुले यो सेवाबाट फाइदा लिइरहेका छन्।
कार्तिक महिना सम्ममा तीन सेवा प्रदायकको कुल ग्राहक संख्या ६३ लाख ३२ हजार १९४ रहेकोमा एनसेलका ४० लाख ८२ हजार ५१७ ग्राहक रहेका छन्। एनसेलले टेलिकम भन्दा पाँच महिनापछि यो सेवा संचालनमा ल्याएको थियो।
फोरजीमा नेपाल टेलिकमको २० लाख ४९ हजार ९१६ ग्राहक रहेका छन्। त्यसैगरी प्राधिकरणका अनुसार स्मार्ट टेलिकमले १ लाख ९९ हजार ७६१ ग्राहकलाई यो सेवा दिएको छ।
फोरजी सेवा बजारमा एनसेलको ६५ प्रतिशत, टेलिकमको ३२ र स्मार्ट टेलिकमको ३ प्रतिशत बजार हिस्सा रहेको छ।
चार वर्ष अगाडिबाट सेवा संचालनमा आएपनि ग्राहक संख्या ६३ लाख मात्र पुग्नु कम रहेको जानकारहरु बताउँछन्। फोरजी सेवामा ठूलो लगानी गरेका सेवा प्रदायकहरुले ग्राहकलाई यो सेवामा आकार्षित गर्नका लागि विभिन्न अफरहरु दिदैँ आएका छन्।
नेपालको कुल ब्रोडब्याण्ड सेवा चलाउने प्रयोगकर्ताको संख्यामा फोरजीको योगदान २६ प्रतिशत रहेको छ।
सबैभन्दा बढी योगदान ५६ प्रतिशत थ्रिजी सेवाको रहेको छ। केबल इन्टरनेट फाइबर टु द होम अर्थात एफटीटीएचको योगदान २२ प्रतिशत रहेको छ। नेपालमा ब्रोडब्याण्ड सेवाको कुल ग्राहक संख्या २ करोड ३९ लाख २१ हजार १८० रहेको छ।