स्मार्टघडी र फिट्नेस उपकरणले कोरोनाको प्रारम्भिक संकेत पहिचान गर्नसक्ने हालसालै गरिएको एक अध्ययनले पत्ता लगाएकाे छ।
माउन्ट सिनाइका अन्वेषकहरुले गरेका अध्ययनले स्मार्टघडीले प्रयोगकर्ताको मुटुको धड्कनमा हुने सानो परिवर्तनहरु पत्ता लगाउन सक्ने इन्ग्याजेटले बताएको छ। जसले संक्रमित हुनु एक हप्ताअघि नै कोरोना भाइरस भएको संकेत दिन सक्छ।
‘वारियर वाच’ नामक सो अध्ययनमा माउन्ट सिनाइका अन्वेषकहरुले गत अप्रिल २९ र सेप्टेम्बर २९ को बीचमा दुई सय ९७ स्वास्थ्यकर्मीहरुसँग मिलेर काम गरेका थिए। जहाँ सहभागीहरुले आफ्नो मुटुको दर (हट रेट) मा हुने परिवर्तन, अर्थात् एचआरभी मापन गर्न एप्पलको स्मार्टघडी लगाएका थिए।
अध्ययनका लेखक रोबर्ट पी हर्टेनका अनुसार कोरोना संक्रमित भएका सहभागीहरुले स्वाब लिएको सात दिन अगाडि नै उनीहरुको एचआरभीको मेट्रिकमा परिवर्तन देखिएको थियो।
अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयले पनि यस्तै अध्ययन गरेको थियो। जसमा उनीहरुले गार्मीन, फिटबिट, एप्पल र अन्य कम्पनीका स्मार्टघडीले कोरोना संक्रमित भएका प्रयोगकर्ताको मुटुमा देखिएको परिवर्तन ९ दिन अगाडि नै पत्ता लगाएको पाए।
‘मानिसहरुलाई संक्रमित हुनुअघि उनीहरुमा देखिने संकेत पहिचान गर्ने तरिका विकास गर्नु कोभिड–१९ को व्यवस्थापनमा साँच्चै सफलता हुनेछ,’ रोबर्ट पी हर्टेन भन्छन्, ‘यस प्रविधिले हामीलाई स्वास्थ्य संकेत ट्रयाक गर्न मात्र नभइ समयमै सचेत रहन सिकाउँछ, जुन अहिलेको महामारीको समयमा निकै आवश्यक रहेको छ।’
स्मार्टघडीको यस्तो विशेषताका कारण एक कम्पनीले कस्टम घडी पनि विकास गरिरहेको इन्ग्याजेटले बताएको छ।
यसैगरी, प्रिन्स्टन विश्वविद्यालयले गरेको अनुसन्धानको आधारमा न्युटाइगर्स कम्पनीले पनि भाइरसको पहिचान गर्न ‘कोभिडडिप’ नामक उत्पादन विकास गरेको छ।