नेपालमा पछिल्लो समय सामाजिक सञ्जालमा नक्कली फेसबुक पेज बनाएर लोभ्याउने क्रम बढीरहेको छ।
विशेषगरी फेसबुकमा प्रतिष्ठित संस्थाको नामबाट पेज बनाएर रोजगारीदेखि अफरसम्मका कुरा उल्लेख गरेर गलत लिंकमा आकर्षित गर्ने गरिएको छ।
बैंक,टेलिकम, मोबाइल कम्पनी तथा सरकारी संस्थाकै नामबाट यस्तो पेज बनाएर लोभ्याउने गरिएको छ।
दूरसञ्चार क्षेत्रकै नियमक नेपाल दूरसञ्चा प्राधिकरणकै नामबाट अनधिकृत पेज बनाएर फेसबुकमा पोष्ट गरेको पाइएको छ।
फेसबुकमा बुस्ट समेत गरिएको उक्त पेजबाट प्राधिकरणले रोजगारीका लागि अवसर खुलाएको र लिंकमा गएर दर्ता गर्न भनिएको छ।
यो पेज तथा त्यहाँ लेखिएको सन्देश पूर्णतया फेक भएको प्राधिकरणले जानकारी दिएको दिएको छ।
'यस प्राधिकरणको नाम तथा लोगो दुरुपयोग गरी सामाजिक सञ्जाल फेसबुक पेज मार्फत् भ्रामक जानकारी प्रकाशित गरेको पाइएकोले यस्ता अनधिकृत पेज तथा सो पेजमा रहेका लिंकहरुलाई क्लिक नगर्न तथा आफ्नो कुनै पनि विवरण उपलब्ध नगराउन सबैलाई सचेत गराउँदछौ' प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भनेको छ।
यसरी पेज बनाएर भ्रम फैलाउने काम गरिरहेको र यस बारेमा थप अनुसन्धान गरिरहेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए।