एनसेल आजियाटा लिमिटेडले रिङ रोडको १०.२ किमी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली बनाउँदैछ।
वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडकखण्डको उक्त क्षेत्रमा ल्यान्डस्केपिङ सहित सो काम गरिरहेको कम्पनीले बताएको छ।
यो क्षेत्रलाई एक उदाहरणीय हरित क्षेत्रको रुपमा विकास गर्ने उद्देश्य एनसेलले लिएको छ।
कम्पनीले पाँच वर्षसम्म उक्त खण्डमा रहेका ६ हजार बढी रुख बिरुवाको हेरचाह गर्दै ग्रीन बेल्टको संरक्षणको काम गर्नेछ।
एकान्तकुनादेखि बल्खु सडकखण्डका ग्रीन बेल्ट क्षेत्रमा एनसेलले नमुनाका रुपमा हरियाली निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले उक्त क्षेत्रमा दायाँ/बाँया हरियाली निर्माण तथा संरक्षणको कार्य सार्वजनिक/निजी साझेदारीको एक उत्तम उदाहरण रहेको बताए।
उनले भने ‘यो पहल कार्बन फुटप्रिन्ट घटाउन र पर्यावरण संरक्षणका लागि हामीले गरेका कार्यक्रमहरु मध्ये एक हो। दीर्घकालिन प्रभाव पर्ने पहलहरुमा योगदान गर्ने हाम्रो उद्देश्य रहेको छ।’