ललितपुर महानगरपालिकाद्वारा सञ्चालित नगर प्रहरीले एलएमसी सीटी पुलिस एप्स सार्वजनिक गरेको छ।
सोमबार महानगरपालिकामा आयोजित एक कार्यक्रमबिच नगरप्रमुख चिरीबाबु महर्जनले नगरबासीलाई सूचना र प्रविधिमा सहज पहुँच पुगोस् भनेर एप्सको सार्वजनिक गरेका हुन्।
एप्सबाट नगरबासीले नगरमा भइरहेका बेतिथि, विसंगती र जथाभावी रूपमा सडक ढाकेर राखिएका मालसामानसहितको सूचना सोझै नगर प्रहरीसमक्ष पुर्याउन सक्नेछन्।
‘नगरबासीले गोप्य रूपमा एप्सको माध्यमबाट गुनासा, सल्लाह, सुझाव तथा समस्याका बारेमा फोटोसहित सूचना दिनसक्ने हुँदा हामी यसलाई तत्कालै समाधान गर्नेछौ’, एप्स सार्वजनिक कार्यक्रम नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने।
एप्सकै माध्यमबाट नगरबासीले राखेका सूचना तथा समस्याका बारेमा भएको प्रगति विवरण हेर्न पाउनेछन्।
एप्समा ललितपुर महानगरपालिकाको सबै काम, सूचना, जानकारी एवं अन्य गतिविधि राखिएको छ।
नगरबासीले आफ्नो टोल छिमेकमा भएका घटनबारे गुनासो, सुझाव पठाउँदा व्यक्तिगत विवरण सुरक्षित रहने भन्दै ढुक्क भएर सुचना र सुझाव दिन नगरबासी समक्ष हाछेथुले आग्रह गरेका छन्।
एप्सकै माध्यमबाट ललितपुर महानगरपालिका भित्रका सबै अत्यावश्यक फोन नम्बर र सम्पर्क व्यक्तिका बारेमा जानकारी पाउन सकिन्छ।
यसमा नगर प्रहरीको काम कर्तव्य र अधिकारका सबै विवरण राखिएका छन्। एप्सकै माध्यमबाट सर्वसाधारणले महानगरमा भइरहेका कामहरू, गर्नुपर्ने काम तथा अन्य निकायले गरिरहेका र गर्नुपर्ने सबै कामको विवरण राखिएको हाछेथुले बताए।
‘सर्वसाधारणले आफू नजिकमा अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण गरेको, फुटपाथ अतिक्रमण गरि पसल राखेको वा सवारी पार्किङ गरेको, वर्कसप सञ्चालन गरेको, अनधिकृत रूपमा होर्डिङ बोर्ड राखेको, फुटपाथ तथा सडकमा निर्माण सामाग्री राखेर बाटो अवरूद्ध गरेको, नक्सा पास नगरी घर, टहरा बनाए, जथाभावी फोहोर गरेको लगायत कुराको फोटो खिचेर पठाउन सक्नुहुनेछ। हामी आवश्यक कारबाहीका लागि तत्कालै फिल्डमा खटिनेछौ’, हाछेथुले जानकारी दिए।
यस्तै जथाभावी सडक खनेको, बाल श्रम शोषण गरेको, मठ मन्दिर, पाटी पौवा जस्ता ऐतिहासिक सम्पदा अतिक्रमण गरेको, बाटामा चौपाय छोडेको देखेमा पनि एप्समा सोझै गुनासो गर्न सकिने उनले बताए।
यो एप्स एन्ड्रोइड प्रयोगकर्ताले यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ भने र एप्पल प्रयोगकर्ताले यसरी डाउनलोड गर्नुहोस्।