हरेक वर्ष एप्पलले आफ्ना चार वा पाँच वटा नयाँ उपकरण सार्वजनिक गरिरहेको हुन्छ।
प्राय सेप्टेम्बर महिनातिर नयाँ उपकरण बजारमा ल्याउने गरेको एप्पलले प्रयोगकर्ताबीच जिज्ञासा बढाइरहन्छ।
यो वर्ष भने एप्पलले अगाडि नै नयाँ उपकरण सार्वजनिक गर्नसक्ने द इन्डियन एक्स्प्रेसले बताएको छ।
गत वर्षको मार्चमा कम्पनीले आइप्याड प्रो, म्याजिक किबोर्ड र म्याकबुक एयर ल्याएको थियो। यसैको एक वर्षपछि एप्पलले केही नयाँ उपकरण थप गर्न लागेको हो।
द इन्डियन एक्स्प्रेसका अनुसार एप्पलले छ वटा नयाँ उपकरण सार्वजनिक गर्न सक्छ। जसमा एयरपोड ३, एयरपोड प्रो २, आइप्याड प्रो, आइप्याड मिनी, एयरट्याग र एप्पल टि.भी रहेको छ।
नयाँ एयरपोड ३ र एयरपोड प्रो २ को लम्बाइ छोटो हुने र यसको एयरटिप नयाँ डिजाइनको साथ आउने रिर्पोटको भनाइ छ।
यसैगरी एप्पलले मिनी एलइडी डिस्प्ले टेक्नोलोजीको साथ नयाँ आइप्याड प्रो बनाउने अपेक्षा गरिएको छ। आइप्याड प्रो यस्तो टेक्नोलोजी भएको पहिलो एप्पल उपकरण हुनेछ जसले डिस्प्लेको कन्ट्रास्ट फिचरलाई अझ राम्रो बनाउने छ।
एलइडी डिस्प्ले टेक्नोलोजी १२.९ इन्च र ११ इन्चको आइप्याड प्रो मोडलमा आउने छ। यसमा ५ जी नेटवर्कको फिचर पनि समावेश हुने भनिएको छ।
साथै आइप्याड मिनीमा पनि यही फिचर आउन सक्छ र यसको डिस्प्ले ८.४ इन्चको हुनेछ।
एप्पलको अर्को नयाँ उत्पादन हो एयरट्याग। ब्लुटुथ कनेक्टिभिटीको फिचर हुने एयरट्यागले हराएका उपकरणहरु भेटाउन मद्दत गर्छ। केही रिपोर्टका अनुसार यो नयाँ उपकरणमा एआर फिचर पनि हुन सक्छ।
अन्तमा एप्पल टि.भी यस वर्ष अपेक्षा गरिएको उपकरण मध्ये पर्छ। नयाँ एप्पल टि.भीको स्ट्रिमिङ बक्समा अहिलेसम्मकै छिटो चल्ने चिपसेट हुने द इन्डियन एक्स्प्रेसको भनाइ छ।
विशेषगरी यो टि.भी धेरै गेम खेल्ने प्रयोगकर्ताको लागि हुने उपयुक्त हुनेछ।