‘स्फिट४सप’ नामक अमेरिकी इकमर्स स्टार्टअप कम्पनीका सिइओ ज्यारेड आइज्याकमानले नागरिक टोलीलाई अन्तरिक्ष उडान गराउन लाखौँ रुपैयाँ खर्च गर्दैछन्।
अमेरिकी एयरोस्पेस निर्माता तथा अन्तरिक्ष यातायात सेवा कम्पनी ‘स्पेसयाक्स’को क्रिउ ड्रैगन क्यापसुलमा राखेर ज्यारेड आइज्याकमानले चारजनालाई पृथ्वी बाहिर घुमाउन लाने सिएनएन बिजनेसले उल्लेख गरेको छ।
यो घुमाइमा कुनै प्रशिक्षित अन्तरिक्ष यात्री हुने छैनन् र चारजना टोली सामान्य नागरिक मात्रै हुने छन्।
३७ वर्षिय आइज्याकमानले आफ्नै पैसाले यो मिसन सुरु गरेका हुन्, जसको नाम ‘इन्स्पिरेसन ४’ मिसन राखिएको छ।
यो मिसनमा ज्यारेड आइज्याकमान सहित अन्य तीनजना व्यक्ति अन्तरिक्ष गर्नेछन् र यसको लागि उनले सिट बुक गरिसकेका छन्।
सिएनएन बिजनेसका अनुसार तीन वटा सिट मध्ये दुई सिट अमेरिकाको ‘सेन्ट जुड चिल्ड्रेनस रिसर्च हस्पिटल’का दुई कर्मचारीलाई दिइनेछ। विशेषगरी ती दुई कर्मचारी क्यान्सर बालबालिका बिरामीका लागि लडिरहेका महिला र फ्रन्टलाइन कार्यकर्ता हुने ज्यारेड आइज्याकमानले बताएका छन्।
चौथो सिट भने ‘स्फिट४सप’ले आयोजनाले गर्ने प्रतियोगिताका एक विजेतालाई दिइनेछ।
सो कम्पनीका अनुसार योग्य प्रतिस्पर्धीले ‘स्फिट४सप’को प्लेटफर्ममा अनलाइन स्टोर सुरु गर्नुपर्ने हुन्छ। र उनीहरुले आफ्नो उद्यमशीलताको कथाबारे भिडियो बनाएर ट्वीट गर्नुपर्छ। सबै भिडियो समिक्षा गरेर उचित विजेतालाई अन्तरिक्ष घुम्न पाउने अवसर दिइने बताइएको छ।
विजेताको नाम कहिले घोषणा हुनेछ भन्नेबारे अहिले सम्म कुनै जानकारी दिइएको छैन।
ज्यारेड आइज्याकमानका अनुसार क्रिउका चारजना सदस्यको ट्रेनिङ ३० दिन भित्र सुरु भइसक्छ र ‘इन्स्पिरेसन ४’ मिसन २०२१ को अन्तिममा पूरा हुन्छ।
तालिममा अनुभवी अन्तरिक्ष यात्रीले गर्ने सबै काम सिकाइने छ, जस्तै आपतकालीन तयारी, माइक्रोग्राविटी प्रशिक्षण र अन्तरिक्ष सूट प्रशिक्षण हुनेछ।
यो अन्तरिक्ष यात्रा कति दिन लामो र कहाँ सम्म हुने पनि प्रष्ट पारिएको छैन।
‘इन्स्पिरेसन ४’ नाम अन्तरिक्ष उडान गर्ने चारजनाको संख्यालाई प्रतिक गरेर राखिएको र यो मिसन मानवले वर्षौदेखि देख्दै आएको अन्तरिक्ष घुम्न पाउने सपनालाई लक्षित गरिएको आइज्याकमानको भनाइ छ।
यो मिसनले मानवतालाई प्रेरित गर्ने ऐतिहासिक क्षण बनाउनुको साथै क्यान्सर बालबालिका बिरामीलाई पनि सहयोग पुर्याउने उनले बताएका छन्।
यसको लागि आइज्याकमानले ‘सेन्ट जुड चिल्ड्रेनस रिसर्च हस्पिटल’ लाई दश करोड डलर अनुदानको रुपमा पनि दिने वचन गरेका छन्।
यसअघि स्पेसएक्सका सिइओ इलोन मस्कले यस्तै मिसनमा सामेल हुने चासो देखाएका थिए। तर, ‘इन्स्पिरेसन ४’ मिसनमा भने उनी नहुने बताएका छन्।
स्पेसएक्सले अब आफ्नो क्रिउ ड्रैगन क्यापसुलमा सिटको लागि सामान्य नागरिक र पर्यटकहरुलाई पनि टिकट बेच्न खुला गर्ने तयारी गरिरहेको छ।