एप्पल प्रयोगकर्ताहरुले अब आफ्नो अनुहारमा मास्क लगाएर नै आइफोन अनलक गर्न सक्ने छन्।
सिएनएन बिजनेसका अनुसार एप्पलले नयाँ आइओएस सफ्टवेयर परिक्षण गरिरहेको छ। जसबाट प्रयोगकर्ताले आफ्नो अनुहार छोपेर ‘फेस आइडी’ अनलक गर्न सक्छन्। तर, यसको लागि एप्पल घडी पनि आवश्यक पर्छ।
हाल मास्क लगाएर फेस आइडीबाट आइफोन अनलक गर्न खोज्दा स्क्रिनमा पासकोड इन्ट्रीको अनुमति माग्ने गर्छ।
अबको नयाँ अपडेटपछि भने एप्पल घडी मार्फत फेस आइडी बिना स्क्रिन अनलक गर्न सकिन्छ।
यसको लागि प्रयोगकर्ताले आफ्नो आइफोन र एप्पल घडी एकअर्कासँग कनेक्ट गर्नुपर्ने हुन्छ। दुइ उपकरणबीच प्रयोगकर्ताको प्रमाणीकरण पूरा हुन्छ, आइफोनलाई एप्पल घडी नजिक ल्याएर अनलक गर्न सकिने सिएनएन बिजनेसको भनाइ छ।
आइफोन अनलक भएपछि एप्पल घडी भ्राइबेट हुनेछ।
यो अपडेट आइफोन अनलक गर्न मात्र काम लाग्ने एप्पलले बताएको छ। प्रयोगकर्ताले एप्पल पे, एप स्टोर वा आइटुन चलाउनको लागि भने पासकोड टाइप गर्नु पर्छ।
एप्पलको नयाँ अपडेट आफ्नो प्रयोगकर्तालाई कोरोना महामारीबीच मास्क लगाइरहन प्रोत्साहन गर्न ल्याइएको हो। योसँगै कम्पनीले एप्पल घडीको बिक्री बढाउन पनि यो कदम चालेको हुन सक्ने अनुमान गरिएको छ।
कम्पनीले आउँदो अपडेट कहिले सार्वजनिक गर्ने भन्नेबारे कुनै आधिकारिक जानकारी दिएको छैन।
गत सेप्टेम्बरमा मात्र एप्पले नयाँ आइओएस अपडेट सार्वजनिक गरेको थियो। यसबीचमा पनि नयाँ फिचर ल्याउन वा उपकरणको बग मिलाउन अपडेटहरु निकालिरहेको थियो।