नेपाल टेलिकमले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सवको कार्यक्रम बिहीबार सम्पन्न भएको छ। सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथी सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले फोरजी सेवा मुलुकभर विस्तार गरी यसै आ.वमा फाइभजी परीक्षण गर्न निर्देशन दिएका छन्।
टेलिकमलाई ग्राहकको विश्वास लिन प्रतिस्पर्धामा अब्बल सावित भएर मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायकका रुपमा लाग्नुपर्ने उनको भनाइ थियो।
उनले मुलुकमा हाल विद्यमान ढिलाई र बढ्दो लगानी न्यूनीकरण गर्न पूर्वाधार विकासका लागि छुट्टै कम्पनी स्थापना गर्न सुझाव दिए।
समग्र व्यवस्थापन, नीति, सेवागत क्षेत्रमा देखिएका चुनौतीहरुका सम्बन्धमा वार्षिकोत्सवका अवसरमा समीक्षा गरी तिनलाई सम्बोधन गनुपर्ने आवश्यकता उनले औंल्याए। मन्त्री गुरुङले कम्पनीको दीर्घकालीन ‘स्ट्राटेजिक म्यानेजमेन्ट’रणनीति तय गरी प्रतिस्पर्धात्मक वातावरणमा सबल रहिरहन सुझाए।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले महामारीका समयमा गरेका गतिविधीबारे प्रष्टाए।
संकटको समयमा पनि कम्पनीका सेवाहरु निरन्तर रुपमा उपलब्ध गराइरहन सहयोग पुर्याउने सम्बन्धित निकायहरु र कर्मचारीलाई धन्यवाद दिए।
सोही कार्यक्रममा प्रमुख अतिथी गुरुङ र कार्यक्रमका सभापति कम्पनी सञ्चालक समितिका अध्यक्षले कम्पनीको सत्रौं वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका संयुक्त रुपमा विमोचन गरे।
यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाहरुमा आवाज दिने कलाकारहरु, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरु, कोरोनाको महामारीमा कम्पनीसँग सहकार्य गरी स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थाहरुलाई सम्मान तथा पदक प्रदान गरिएको थियो।
समारोहमा गुरुङ तथा कम्पनी सञ्चालक समितिका अध्यक्षले कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र पनि वितरण गरे।