नेपालको इन्टरनेट कनेक्सनमा दक्षिण छिमेक भारतको एकाधिकार तोडिएको चार वर्षमा पनि चीनसँगको व्यापार भने बढ्न सकेको छैन।
२०७४ सालमा नेपाल टेलिकम चीनसँगको इन्टरनेट सञ्जालमा जोडिएको थियो। गएका चार वर्षमा डेटा ट्राफिक भने खासै बढ्न सकेको छैन।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार सुरुको तुलनामा केही ब्यान्डविथ बढेपनि सोचेजस्तो नबढेको बताउछन्।
'सुरुवातको तुलनामा स्वभाविक रुपमा बढेको त छ। तर व्यवसायिक रुपमा प्रभाव पार्न सक्नेगरी भने बढेको छैन' उनले भने।
टेलिकमले चिनियाँ कम्पनी चाइना टेलिकम ग्लोबलबाट ब्यान्डविथ कनेक्सन ल्याइरहेको छ। दुवैतिरबाट कनेक्सन जोडिएपछि ब्यान्डवीथको मूल्य प्रतिस्पर्धी हुने र त्यसको प्रभाव नेपालमा इन्टरनेट सस्तो हुने अनुमान गरिएको थियो। तर अहिलेसम्म भारततिरबाट ल्याउने व्यान्डविथलाई प्रतिस्पर्धा टक्कर दिनेगरी ट्राफिक आएको छैन।
टेलिकमले चीनबाट सुरुमा १ दशमलब ५ जिबिपिएस ब्यान्डवीथ ल्याएको थियो। त्यसमा अहिलेसम्म पनि १० प्रतिशत माथिको बृद्धि भएको छैन।
चीनसँगको कनेक्सन जोडिएर ब्यान्डविथ नआए पनि मूल्य प्रतिस्पर्धी बनाएको अधिकारीको भनाइ छ। चीनबाट इन्टरनेट आउन थालेपछि भारतबाट आउनेको पनि मूल्य घटेको उनको भनाइ छ।
'चीनसँग जोडिनुअघि भारतबाट आउने ब्यान्डविथ प्रति एमबीपिएसको मूल्य ३५ डलरसम्म थियो। पछिल्लो समय भने त्यो ७/८ डलरमा झरेको छ' उनले भने' चीनबाटै नआएपनि जोडिनेवित्तिकै भारतको मूल्य घटेको छ।'
ब्यान्डविथको मूल्य घट्नुमा चिनियाँ कनेक्सनमात्र भन्दा पनि विश्व बजारमै घटेका कारण पनि हो।
अप्टिकल फाइबर मार्गको बिकल्प तयार नहुँदा व्यावसायिक रुपमा चीनबाट आउने व्यान्डविथ बढ्न नसकेको अधिकारीको भनाइ छ।
अहिले टेलिकमले केरुङ नाकाबाट कनेक्सन ल्याएको छ। यसको बिकल्पमा तातोपानी नाकाबाट ल्याउनका लागि नेपालतिरको पूर्वाधार बनाउने काम भइरहेको अधिकारीले जानकारी दिए।
यन्त्र उपकरणको क्षमता बढाउने लगायतका काम भइरहेको उनको भनाइ छ। भूकम्पका कारण तातोपानीको कनेक्सन बिग्रिएको थियो।
तातोपानी नाकाबाट पनि कनेक्सन जोडिएपछि चीनबाट ब्यान्डविथ बढ्ने अधिकारीको विश्वास छ।
सन् २००३ मा तत्कालीन सरकारले अरनिको राजमार्ग हुँदै कनेक्सन ल्याउन सम्झौता गरेको थियो। सोहीअनुसार १५५ किलोमिटर फाइबर विस्तार सन् २००८ मै सम्पन्न भएको थियो। भुकम्पका कारण बिग्रिएपछि फेरि मर्मत भइरहेको टेलिकमले जानकारी दिएको छ।
अहिले एउटा जलविद्युत आयोजनाको प्रसारण लाइनबाट फाइबर जोड्ने र उपकरणको क्षमता विस्तारको काम भइरहेको छ।
नेपाल टेलिकमले चीनबाट आउने व्यान्डविथ बढाएको खण्डमा अहिलेको तुलनामा अझै सस्तो हुने अधिकारीहरुको विश्वास छ। हाल टेलिकम एक्लैले एक अर्ब हाराहारीको अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत गर्दै आएको छ।
कूल खपतको ७० प्रतिशत स्थानीय क्यास सर्भरबाट व्यवस्थापन हुने भएकाले ३० प्रतिशतमात्र अन्तर्राष्ट्रिय ब्यान्डविथ आयात गरिरहेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए।
चीनबाट इन्टरनेट आएपछि चीनसँग धेरै कारोबार हुने संस्थाहरुलाई लिज लाइन लिनका लागि सजिलो र सस्तो हुने छ। यसबाट कम्पनीको प्रतिस्पर्धी क्षमता पनि बढ्ने र उपभोक्तालाई पनि राहत हुने बताइन्छ।
हाल नेपालमा भारतका कम्पनीमार्फत् भैरहवा, विरगंज र विराटनगरबाटमात्र ब्यान्डवीथ आइरहेको छ।