नेपाल टेलिकम सेयर बजारमा सूचीकृत एक मात्र टेलिकम कम्पनी हो।
अन्य समूहमा रहेको यो कम्पनीको सेयर मूल्य एक वर्षमै दोब्बरले बढेको छ। गत वर्षको फागुन ४ गते कम्पनीको मूल्य प्रतिकित्ता ६१९ रुपैयाँ थियो।
आइतबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १ हजार ३४९ रुपैयाँ कायम भएको छ।
यस दिन कम्पनीको मूल्य प्रतिकित्ता ६१ रुपैयाँ घटेर सो मूल्य कायम भएको हो। प्रतिकित्ता १४ सय रुपैयाँमा ओपनिङ कारोबार भएको थियो।
कम्पनीले सार्वजनिक गरेको वित्तीय स्थितिअनुसार नाफा खस्किएपछि आइतबार सेयर मूल्यमा ठूलो गिरावट देखिएको छ।
कम्पनीले यस आर्थिक वर्षको ६ महिनामा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जवकि गत वर्षको यस अवधिमा कम्पनीले ४ अर्ब ९३ करोड रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको सेवा बिक्रीवापतको आम्दानी नै घटेको छ। पुस मसान्तसम्म यस्तो आम्दानी १७ अर्ब ७२ करोड रुपैयाँ छ गत वर्षको यस अवधिमा १८ अर्ब रुपैयाँ आम्दानी भएको थियो।
त्यस्तै बैंकको ब्याज घटेपछि अन्य आम्दानी पनि ३ अर्ब ८८ करोडबाट घटेर २ अर्ब ८५ करोडमा सीमित भएको छ।
कम्पनीको खुद नाफा घटेपछि प्रतिसेयर आम्दानी खुम्चिएको छ। एक वर्षमा प्रतिसेयर आम्दानी ६५ रुपैयाँबाट घटेर ४३ रुपैयाँमा झरेको छ।
कम्पनीको नाफा घटेको पहिलो पटक होइन। केही वर्षदेखि नै निरन्तर कम्पनीको नाफा खस्किँदै गएको छ। गत आर्थिक वर्षमा कम्पनीले ८ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
सो आर्थिक वर्षमा कम्पनीले कमाएको नाफा अघिल्लो वर्षको तुलनामा कमी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ९ अर्ब ७५ करोड रुपैयाँ कमाएको थियो।
निजी क्षेत्रका कम्पनीहरुको टेलिफोन तथा इन्टरनेट सेवा विस्तार र प्रयोग बढ्दै जाँदा अधिक सरकारी स्वामित्व रहेको नेपाल टेलिकमको वित्तीय स्थिति खस्किँदै गएको छ। टेलिकमको सबैभन्दा ठूलो प्रतिस्पर्धी एनसेल हो।
नेपाल टेलिकमको जगेडा कोष ८० अर्ब रुपैयाँ बराबर छ। गत वर्षको यसै अवधिको तुलनामा जगेडा कोषको आकार करिब ४ अर्बले बढेको छ। सेयर बजारमा नेपाल टेलिकम सबैभन्दा बढी शक्तिशाली छ।
यसअघि बारम्बार अर्थमन्त्रीहरुले टेलिकमको वार्षिकोत्सवका अवसरमा कम्पनीको सेयर स्वामित्वको हिस्सा सर्वसाधारणलाई बढाउने बताउँदै आएका छन्।
बर्सेनि अर्थमन्त्रीले कम्पनीको सर्वसाधारणतर्फ सेयर स्वामित्व २६ प्रतिशत पुर्याउने बताउँदै आए पनि कार्यान्वयन हुन सकेको छैन।
यसअघिका अर्थमन्त्री गोकुल बाँस्कोटाले टेलिकमको हिस्सा बढाउने उद्घोष गरेका थिए। हालका अर्थमन्त्री विष्णु पौडेलले पनि सो उद्घोष गर्दै आएका छन्।
कुल १५ अर्ब सेयर पुँजी रहेको कम्पनीको ४. ४ प्रतिशत मात्रै सर्वसाधारणमा सेयर जारी छ। अहिले टेलिकममा ९१ प्रतिशत सेयर सरकारी स्वामित्वमा छ।
बाँकी सेयर कर्मचारीहरुको छ। नाफाबाट सरकारलाई सबैभन्दा धेरै लाभांश दिनेमा नेपाल टेलिकम सबैभन्दा अगाडि रहँदै आएको छ।