संसारभर एप्पलको स्मार्टघडी लगाउने व्यक्तिको संख्या व्यापक रुपमा बढेको छ। नयाँ टेक्नोलोजी र विभिन्न फिचरको साथ आउने एप्पल घडी कयौँ प्रयोगकर्ताले रुचाएका छन्।
हालै गरिएको एक अनुसन्धान अनुसार एप्पल घडी लगाउने प्रयोगकर्ताको संख्या दश करोडभन्दा बढी रहेको एप्पल इन्साइडरले उल्लेख गरेको छ।
एप्पलका विश्लेषक निल साइबर्टले तयार पारेको तथ्यांक अनुसार गत डिसेम्बरमा एप्पल घडीले यो नयाँ रेकर्ड बनाएको हो।
सन् २०२० मा एप्पल घडी लगाउनेको संख्या तीन करोड पुगेको र यसको गति अझै बढिरहेको उनले बताएका छन्।
‘दश करोडभन्दा बढीले एप्पल घडी लगाएसँगै यो उपकरण आइफोन, आइप्याड र म्याकपछि एप्पलको चौथो धेरै बिक्री हुने सूचीमा परेको छ,’ साइबर्ट भन्छन्, ‘एप्पल घडीको बिक्री वृद्धि हुँदै जाने हो भने सन् २०२२ सम्म यसले म्याकलाई पछि पार्ने छ।’
प्रयोगकर्ताले एप्पल घडी धेरै मन पराउनुको कारण यसको सहजता र फिचर रहेको विश्लेषकहरुको भनाइ छ।
संसारभरका आइफोन प्रयोगकर्ता मध्ये दश प्रतिशतले मात्र एप्पल घडी लगाउने एप्पल इन्साइडरले बताएको छ। यसले एप्पल घडीको बिक्री बढ्ने सम्भावना अझै धेरै रहेको देखाउँछ।
यदि एप्पलले आफ्नो स्मार्ट घडी एन्ड्रोइड प्रयोगकर्ताको लागि पनि ल्याउने हो भने केही समयमा नै प्रयोगकर्ताको संख्या तीस करोडभन्दा बढी हुन सक्ने साइबर्टले अनुमान लगाएका छन्।
गत वर्ष मात्रै कम्पनीले नयाँ ‘एप्पल वाच सिरिज-६’ सार्वजनिक गरेको थियो। यो स्मार्टघडीमा भएको इसीजी फिचरले प्रयोगकर्ताको मुटुको अवस्था जाँच्न सकिने छ।
अहिले बजारमा एप्पल वाच सिरिज–६ को मूल्य चार सय २९ अमेरिकी डलर रहेको छ।