यो वर्ष एप्पलले नयाँ आइफोन–१३ सार्वनजिक गर्ने हल्ला छ। बढ्दै गएको हल्लासँगै त्यसका फिचर कस्ता हुनेछ भन्नेबारे आइफोन प्रशंसकहरुले अनुमान लगाउन थालिसकेका छन्।
आइफोन–१३ को आकार, डिस्प्ले, चार्जरदेखि यसको रंग धेरैको जिज्ञासा भित्र परेको छ।
इन्ग्याजेटका अनुसार एप्पलले आइफोन–१३ को डिस्प्लेमा भने नयाँ फिचर थप्ने छ।
एप्पलका प्रख्यात लीकर म्याक्स वाइनबाचले आइफोन–१३ ‘अल्वेज–अन’ डिस्प्ले फिचरसहित आउने बताएका छन्।
‘अल्वेज–अन’ डिस्प्ले फिचरमा फोनको डिस्प्ले लक स्क्रिनको जस्तै देखिनेछ र प्रयोगकर्ताले सबै विवरण फोन अन नगरी हेर्न सक्छन्।
मुख्यगरी डिस्प्लेमा घडी र ब्याट्रीको जानकारी देख्न सकिन्छ। प्रयोगकर्ताले आफ्नो आवश्यक अनुसारको आइकन पनि राख्न सक्नेछन्।
यसमा फोन भित्रको इन्पुट भने खुलासा नहुने इन्ग्याजेटको भनाइ छ।
‘अल्वेज–अन’ डिस्प्ले फिचर सामसङ तथा अन्य एन्ड्रोइड स्मार्टफोनमा आइसकेको छ।
साथै आइफोन–१३ को क्यामरा फिचर पनि अपग्रेड हुने अनुमान छ। आइफोन–१३ मा अल्ट्रा– वाइड क्यामरा, अटोमेटिक अस्ट्रोफोटोग्राफी र पोट्रेट भिडियो मोड हुने म्याक्स वाइनबाचले उल्लेख गरेका छन्।
कतिपयले नयाँ आइफोनको नोच सानो हुने पनि अनुमान लगाएका छन्।
एप्पलले आइफोन–१३ का फिचरबारे हालसम्म कुनै आधिकारिक जानकारी भने दिएको छैन।