एप्पलले आफ्नो आइओएस १४.५ अपडेटमा नयाँ इमोजी थपेको छ।
द भर्जका अनुसार एप्पलले सफ्टवेयर कम्पनी युनिकोड कन्सोर्टियम सँगको सहकार्यमा आफ्ना पुराना इमोजीमा केही परिवर्तन गरेर नयाँ इमोजी ल्याएको हो।
एप्पलले विशेषगरी इमोजीका छालाको रंग र तिनका लैंगिक पहिचानमा ध्यान दिएको छ। यसमा प्रयोगकर्ताले दुई जोडी चुम्बन गरिरहेको इमोजीमा पनि छालाका रंगहरुको विकल्प पाउनेछन्।
छालाको रंगसँगै कम्पनीले दुवै पुरुष र महिलामा दाह्री रहेको नयाँ इमोजी बनाएको छ।
यो अपडेटमा थकित अनुहारको इमोजी, आँखा घुमेको इमोजी र अनुहारमा बादल परेको इमोजी पनि रहेको द भर्जले बताएको छ। एप्पलले मुटुमा आगो लागेको र मुटुमा टेप टालेको इमोजी थपेको छ।
यसको साथै ‘रक–क्लाइबिङ’ गरिरहेको इमोजीलाई हेल्मेट लगाइदिएको छ, भने रगत भरिएको सिरिन्ज सामान्य सिरिन्जको रुपमा देखाइएको छ।
एप्पलले यो नयाँ सिरिन्ज इमोजी कोभिडबारे टाइप गर्ने प्रयोगकर्ताले प्रयोग गर्न सक्ने बताएको छ। रगतले भरिएको सिरिन्ज इमोजी केहीको लागि डरलाग्दो भएकोले पनि यसमा नयाँ परिवर्तन थपेको बताइएको छ।
अर्को नयाँ परिवर्तनमा भने एप्पलले हेडफोन इमोजीलाई एयरपोड म्याक्स जस्तै देखिने बनाएको छ। एप्पलले प्राय आफ्नो उत्पादनहरु नै इमोजीको रुपमा प्रयोग गरिरहेको हुन्छ।
यी सबै इमोजीहरु युनिकोड कन्सोर्टियमले गत सेप्टेम्बरमा नै बनाएको थियो।
एप्पलका अनुसार नयाँ इमोजीहरु आइओएस १४.५ बिटाको नयाँ रिलिजमा उपलब्ध हुनेछ।