इन्टरनेट तथा टेलिभिजन सेवा दिंदै आएको वर्ल्डलिंक विरुद्ध केवल टेलिभिजन व्यवसायीहरूले उजुरी दिएका छन्। कम्पनीले कानुन विपरीत नेट टिभीको सेवा दिएको भन्दै उनीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएका हुन्।
नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा सेटअप बक्सबाट मात्र टेलिभिजन प्रसारण गर्नु पर्ने र स्वीकृत भए बमोजिम विभिन्न स्वदेशी तथा विदेशी टेलिभिजन च्यानलहरू वितरण गर्ने प्रयोजनका लागि मात्र आइपिटिभी नेटवर्क प्रयोग गर्नुपर्ने लगायत विभिन्न शर्त भए पनि एनआइटिभीले शर्त विपरीत काम गरेको महासघंको आरोप छ।
कम्पनीले डाउनलिंक अनुमति प्राप्त नभएका विभिन्न च्यानलहरू, सेन्सर नै नगरिएका नेपाली तथा विदेशी चलचित्र र कार्यक्रम तथा भिडिओ अन डिमान्ड अन्तर्गत विभिन्न कार्यक्रमहरू वर्षौंदेखि निर्वाध रूपमा वायरलेस माध्यमबाट करोडौं मोबाइल सेटहरूमा समेत हेर्न मिल्नेगरी ओटिटी/मोबाइल एप्स/आईओएस/वेब टिभी मार्फत गैर कानुनी रूपबाट प्रसारण गरिरहेको महासंघको आरोप छ।
वर्ल्डलिंकले भने कानुनअनुसार अनुमति लिएर सेवा दिइरहेको प्रष्टीकरण दिएको छ। कम्पनीका प्रवक्ता लक्ष्मण यादवले सरकारबाट लिएको लाइसेन्सबाटै नयाँ सेवा दिइएको बताए।
कम्पनीले विश्वमा आएको नयाँ प्रविधि उपभोक्तालाई दिएको र उपभोक्ताहरू त्यसमै आकर्षित भएपछि व्यवसायीविरूद्धमा गएको कम्पनीको बुझाइ छ।
'हामीले दिएको नयाँ प्रविधि हो। यसमा गुणस्तरसँगै सस्तो पनि छ। यसो हुने वित्तिकै उपभोक्ताले तुलना गर्छन्। तुलना गर्दा नयाँ प्रविधिमा ग्राहक आए। वर्षौदेखि एकाधिकारजस्तै गरी व्यवसाय गरेकाहरू नयाँ प्रविधिमा जानु स्वभाविक नै हो,' उनले भने, 'तर हामीलाई के विश्वास छ भने सरकारले नयाँ प्रविधिलाई रोक्दैन।'