मोबाइलको ब्याट्री चाँडै सकिने समस्या आइफोन प्रयोगकर्ताले लामो समयदेखि भोग्दै आएका छन्। अब भने एप्पलले यो समस्याको समाधान निकाल्दै छ।
सिएनएन बिजनेसका अनुसार एप्पलले ब्याट्री बढाउने वायरलेस उपकरण उत्पादन गरिरहेको छ, जसको चुम्बकीय फिचरबाट प्रयोगकर्ताले आइफोन चलाउँदै चार्ज गर्न सक्छन्।
आइफोन निमार्णकर्ता करिब एक वर्षदेखि यस ब्याट्री बढाउने उपकरण बनाउने काममा लागी परेको थिए।
यो उपकरण आइफोन–१२ का मोडलमा प्रयोग हुने म्यागसेफसँग जोडेर प्रयोग सकिन्छ। म्यागसेफ एप्पलले गत वर्ष बजारमा ल्याएको नयाँ उत्पादन हो। यो आइफोनको पछाडिपट्टी टाँसेर वायरलेस चार्जर र अन्य चुम्बकीय उपकरणसँग जोड्न प्रयोग हुन्छ।
एप्पलले ब्याट्री बढाउने वायरलेस उपकरण गत वर्ष आइफोन–१२ सार्वजनिक भएकै मितिमा ल्याउने योजना बनाएको थियो। तर, त्यसको सफ्टवयेरमा केही समस्या देखिएको कारण बजारमा सार्वजनिक गर्न नसकेको सिएनएन बिजनेसले बताएको छ।
यस्तो टेक्नोलोजी सुरु गर्ने एप्पल पहिलो कम्पनी भने होइन। यसअघि मोटोरोला स्मार्टफोन कम्पनीले आफ्नो ‘मोटो जेट’ मोबाइलको लागि पावर प्याक नामक चुम्बकिय ब्याट्री उपकरण ल्याएको थियो। सो उपकरणबाट ब्याट्री १६ घण्टासम्म टिक्ने रिपोर्टले उल्लेख गरेको छ।
एप्पलले उत्पादन गरिरहेको उपकरण कहिले सार्वजनिक हुने र कति मूल्य पर्ने भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइएको छैन।