स्मार्टफोन कम्पनी सामसङले केही वर्ष यतादेखि स्मार्ट चस्मा बनाउने हल्ला छ।
द भर्जका अनुसार गत वर्ष आयोजना भएको टेक कार्यक्रम सिइएस २०२० मा सामसङले डिजाइन गरेको इमेज–प्रोजेक्टिङ एआर चस्माको सानो झलक मात्र देखाइएको थियो। सो स्मार्ट चस्माको नाम ‘सामसङ ग्लासेस लाइट’ भनिए पनि चस्मामा कस्ता फिचर हुनेछ भन्ने खुलाइएको थिएन।
तर, हालै एक ग्याजेट लिक अकाउन्ट वाकिङक्याटले दुईवटा भिडियो सार्वजनिक गरेको छ। जसमा ‘सामसङ ग्लासेस लाइट’मा हुन सक्ने फिचर देखाइएको छ।
भिडियोमा सामसङको स्मार्ट चस्माले ठूलो भर्चुअल स्क्रिन प्रोजेक्ट गर्न सक्ने जसबाट प्रयोगकर्ताले सहजसँग फिल्म हेर्न, गेम खेल्न र कम्प्यूटरको मोनिटर हेर्न सक्ने भनिएको छ।
यो स्मार्ट चस्मालाई ‘सनग्लास’ मोडमा परिवर्तन गरेर प्रयोगकर्ताले बाहिर घाममा लगाएर हिड्न सक्छन्।
चस्मामा भएको एआर फिचर मार्फत ड्रोनबाट कैद गरिएको भिडियो पनि आफ्नै आँखा अगाडी हेर्न सकिने द भर्जले उल्लेख गरेको छ।
सामसङले आफ्नो स्मार्ट चस्मामा एआर फिचरको पूर्ण प्रयोग गरेको देखिन्छ। भिडियोमा सार्वजनिक भएअनुसार यस चस्माबाट प्रयोगकर्ताले इन्टरनेटमा खोजी गरेका कुरा थ्रिडी डिजिटलको रुपमा वास्तविक संसारमा ल्याउन सक्छन्।
एआर टेक्नोलोजीको मुख्य काम नै थ्रिडी फोटो, एनिमेसन र भिडियोलाई वास्तविक संसारमा देखाउनु हो।
स्मार्ट चस्मा उत्पादन गर्ने तयारीमा रहेको कम्पनी मध्ये सामसङ पहिलो होइन। एप्पल पनि आफ्नो एआर टेक्नोलोजीको हेडसेट बनाउने प्रयासमा छ।
यता फेसबुकले पनि आफ्नै स्मार्टचस्मा उत्पादन गर्नुका साथै स्मार्टघडीको तयारीमा लागेको छ।
स्मार्ट चस्मा सार्वजनिक गर्ने विषयमा सामसङले कुनै खुलासा गरेको छैन। कम्पनी अझै यसको उत्पादनमा लागि परेको अनुमान छ।