चिनियाँ स्मार्टफोन कम्पनी ओपोले आफ्नो नयाँ कन्सेप्ट रोलेबल स्मार्टफोनको लागि एयर चार्जर ल्याउने चर्चा छ।
इन्ग्याजेटका अनुसार मंगलबार ओपोले ट्वीटरमा एयर चार्जरको एक डेमो भिडियो पोस्ट गरेको थियो। जसमा ओपोको रोलेबल स्मार्टफोनलाई हावामा चार्ज गरिरहेको हुन्छ।
तीस सेकेन्डको भिडियोमा चार्जिङ प्याडमा राखेर चार्ज गरिरहेको रोलेबल स्मार्टफोन त्यहाँबाट उठाएर चलाउँदा पनि चार्ज भइरहेको देखाइन्छ।
सो एयर चार्जरबाट चार्ज गर्दै चलाउँदा फोनलाई एक ठाउँमा समातेर बस्नु नपर्ने इन्ग्याजेटको भनाइ छ।
ओपोका अनुसार कम्पनीले तयार पारिरहेको वायेरलेस एयर चार्जिङमा चुम्बकीय टेक्नोलोजी प्रयोग गरेको हुन्छ र यसले ७.५ वाटको पावर दिन्छ। यो चार्जरमा उपकरणहरु ०.१ मिटर टाढासम्म राखेर चार्ज गर्न सकिन्छ।
यो चार्जर ओपोले कहिले उत्पादन गरेर सार्वजनिक गर्नेबारे कुनै खुलासा गरिएको छैन।
कम्पनीले आफ्नो नयाँ कन्सेप्टको रोलेबल स्मार्टफोन पनि उत्पादन गरेको छैन।
‘ओपो एक्स २०२१ रोलेबल’ नामक सो स्मार्टफोन निश्चित आकारको नहुने र यसको डिस्प्ले ६.७ इन्च देखि ७.४ इन्च सम्म हुन सक्ने अनुमान लगाइएको छ।
ओपोले दुवै रोलेबल स्मार्टफोन र एयर चार्जरको कन्सेप्ट भिडियो मात्र सार्वजनिक छ।
अर्को चिनियाँ स्मार्टफोन कम्पनी साओमी पनि एयर चार्जिङ टेक्नोलोजीमा काम गरिरहेको जीएसएम एरेनाले उल्लेख गरेको छ।