भारतले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र युट्युबमा नयाँ नियम लागू गर्ने भएको छ।
बिहीबार फेसबुक, ट्वीटर र अन्य सामाजिक मिडिया प्लेटफर्मको लागि कडा नियम जारी गरेको सिएनएन बिजनेसले लेखेको छ।
यस नियमअन्तर्गत देशका सबै सामाजिक मिडिया कम्पनीले तीन नयाँ भूमिकाको साथ कर्मचारी राख्नु पर्ने हुन्छ।
कम्पनीले एक अनुपालन अधिकारी जसले स्थानीय कानुन पालना गरिरहेको सुनिश्चित गर्ने, एक गुनासो अधिकारी जसले भारतीय प्रयोगकर्ताबाट प्लेटफर्मबारे आएका गुनासो सम्बोधन गर्ने र एक सम्पर्क व्यक्ति जो भारतीय कानून प्रवर्तनमा हरेक समय उपलब्ध हुनु पर्ने पद राख्नु पर्छ।
यसरी ती कम्पनीहरुले कति गुनासो प्राप्त गरे र त्यसको लागि कस्ता कदम अघि बढाए भनेर हरेक महिना रिपोर्ट प्रकाशित गर्नुपर्ने हुन्छ।
सिएनएन बिजनेसका अनुसार सामाजिक मिडिया प्लेटफर्महरुले कस्ता कन्टेन्टहरु पोष्ट गर्न पाउने कुरामा पनि निकै ध्यान दिनु पर्छ।
ठूला सामाजिक नेटवर्कहरुलाई नयाँ नीति अनुपालन गर्न तीन महिनाको अविधि दिइने र साना कम्पनीहरुले पनि तुरुन्तै काम अगाडी बढाउनु पर्ने भारत सरकारले बताएको छ।
भारत सरकारले ट्वीटरलाई केही नराम्रा अकाउन्टहरु हटाउन दबाब दिएको कारण यो नयाँ नियम सुरु हुन लागेको हो।
भारतमा भइरहेको कृषि आन्दोलनको समर्थनमा ट्वीटरमा ह्यासट्यागहरु टे«न्डिङमा आएको थियो, तत्कालै सरकारको आदेशमा कयौँ अकाउन्टहरु बन्द पनि गरिए।
‘सामाजिक सञ्जालहरुले भारतमा राम्रो व्यवसाय गरिरहेको छ र कयौँ भारतीय नागरिकलाई रोजगारको अवसर पनि दिएको छ,’ भारतका इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री रविशंकर प्रसादले भने, ‘यी कम्पनीले हाम्रा कयौँ प्रयोगकर्ता कमाएका छन् तर टेक कम्पनीले सामाजिक मिडियाको दुरुप्रयोग विरुद्ध अझ बढी काम गर्न आवश्यक छ।’
फेसबुकले पनि भारतको नयाँ नियम अध्ययन गर्ने बताएको छ।
‘फेसबुकले इन्टरनेटमा देखिने नराम्रा कुराहरु विरुद्ध आएका नयाँ नियमलाई सधैँ स्वागत गर्छ,’ कम्पनीका एक प्रवक्ता भन्छन्, ‘फेसबुक भारतको सहयोगी पनि हो र यहाँका प्रयोगकर्ताको सुरक्षा हाम्रो प्लेटफर्मको लागि निकै महत्वपूर्ण हुन्छ।’
ट्वीटर र गुगलले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन।