युट्युबले कोरोना खोपबारे भ्रम फैलाउने ३० हजार भिडियो आफ्नो प्लेटफर्मबाट हटाएको छ।
इन्ग्याजेटका अनुसार युट्युबले ६ महिनाअघि कोरोना भाइरस विरुद्धका खोपबारे भ्रम नफैलाउन सबै भिडियोका लागि नयाँ नीति अपडेट गरेको थियो। तर, यो नीति उल्लंघन गर्ने भिडियोको संख्या बढ्दै गएपछि हटाइएको हो।
गत अक्टोबरमा कम्पनीले कोरोना भाइरसको गलत जानकारी रोक्न केही नीतिहरु लागू गरिसकेको थियो, तर त्यसमा खोपका कुराहरु सम्बोधन भएका थिएनन्।
कोरोना भाइरसकै अफवाह फैलाएको कारण युट्युबले गत फेब्रुअरीमा आठ लाख भिडियो हटाएको थियो।
कोरोना विरुद्धका खोपहरु धेरै देशमा पुगिसकेको छ। यसबारे मानिसहरुले गलत सूचना दिइरहेकाले सामाजिक सञ्जालहरु सचेत हुन थालेका हुन्।
केही महिनाअघि मात्रै फेसबुक र ट्वीटरले खोपहरु बारे फैलिने भ्रम प्रतिरोध गर्न आफ्ना नीतिहरु विस्तार गरेको थियो। फेसबुकले कोरोना खोपको मात्र नभइ सबै किसिमका खोपबारे बन्ने गलत सूचनाहरु आफ्नो प्लेटफर्ममा निषेध गरेको छ।
युट्युबले भने विश्व स्वास्थ्य संगठनको आधिकारिक निर्देशनको विरोधमा बन्ने कोरोना खोपबारे भ्रम हटाउन ध्यान दिएको इन्ग्याजेटले बताएको छ।