एप्पलको नयाँ ‘एयरपड–३’ को फोटो केही दिनअघि सामाजिक सञ्जालमा लिक भएको थियो। यसलगत्तै यो उपकरण सन् २०२१ को सुरुतिरै बजारमा आउने अनुमान गरिएको थियो।
एप्पलका विश्लेषक मिङ–ची किओले भने एप्पल प्रयोगकर्तालाई एयरपड–३ को चाडैँ प्रतिक्षा नगर्न सुझाव गरेका छन्।
एप्पल इन्साइडरका अनुसार एयरपड–३ यो वर्षको पहिलो त्रैमासिकतिर बजारमा उपलब्ध हुने भनेपनि यसको सार्वजनिक मिति २०२१ को तेस्रो त्रैमासिकतिर सरेको छ। उपकरणको उत्पादन अपेक्षित मिति भन्दा ढिलाइ हुनुको कारण एप्पलले खुलाएको छैन।
एप्पलले नयाँ एयरपड–३ यहीँ वर्ष सार्वजनिक गर्ने र चौथो त्रैमासिकतिर अन्य देशमा पनि निर्यात हुने मिङ–ची किओले बताएका छन्। उनका अनुसार नयाँ एयरपड बजारमा आएसँगै एयरपडको बिक्री घट्ने छ।
‘कम्पनीले एयरपड–३ तोकेको मितिभन्दा ढिलो सावजर्निक हुनाले यो वर्ष यसको बिक्री २५ प्रतिशतले गिरावट हुनेछ,’ मिङ–ची किओले अनुमान गरेका छन्, ‘नयाँ एयरपडले हालको एयरपड–२ को बिक्रीमा कति प्रभाव पार्न सक्छ थाहा छैन। तर, एप्पल अझैपनि एयरपड–२ को मूल्य घटाउने कुरामा अलमल छ।’
कम्पनीले ‘एयरपड–३’ को मूल्यबारे हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन।