आफ्ना उपकरण अन्य कम्पनीका भन्दा राम्रो भन्नेबारे एप्पल पूर्ण विश्वस्त छ।
विशेषगरी गत वर्ष सार्वजनिक भएको आइफोन–१२ नयाँ विशेषताले झनै बलियो बनेको एप्पलको दाबी छ।
नयाँ आइफोनप्रतिको यही विश्वासका कारण एप्पलले आफ्ना प्रयोगकर्तालाई आइफोन–१२ लापरबाही गरेर चलाउन सुझाव दिएको जेडडी नेटले लेखेको छ।
प्रयोगकर्तालाई यो कुरा बुझाउन एप्पलले केही दिनअघि युट्युबमा एक भिडिओ हालेको थियो। जसमा आइफोन–१२ मा परीक्षण गरेको देखिन्छ।
३८ सेकेन्डको भिडिओमा एक व्यक्ति आइफोन–१२ बाट खानाको भिडिओ हेरेर खाना पकाउन सिकिरहेको हुन्छ।
खाना पकाउने क्रममा पिठो, अण्डा र सागसब्जी आइफोनभरी छरिन्छ। भान्साको त्यो भद्रगोलमा आइफोन कहिले भुइँमा खस्छ, भाँडामा ठोक्किन्छ र पानीमा खस्छ।
तर, यी सबैले आइफोनमा कुनै असर पर्दैन।
भिडिओको अन्तिममा आइफोनलाई पानीमा धोएर राम्रो अवस्थामा चलाएको देखिन्छ र एप्पलले भनेको छ–‘आइफोन अझ टिकाउ भएको छ, ढुक्क भएर चलाउनुहोस्।’
यसैलाई एक उदाहरण मानेर प्रयोगकर्तालाई पनि आफ्नो आइफोनलाई धेरै सम्हालेर नचलाउन भनिएको छ।
जेडडी नेटका अनुसार आइफोन–१२ मा भएको ‘सिरामिक सिल्ड’ले गर्दा यो उपकरण पुराना आइफोनभन्दा बलियो भएको हो।
प्रयोगकर्ताले पनि यो नयाँ आइफोनबारे राम्रै प्रतिकृया दिएका छन्।