नयाँ एयरपड प्रो बिक्रीका लागि एप्पलले टिकटकको सहायता लिएको छ।
एप्पल इन्साइडरका अनुसार एप्पलले आफ्नो टिकटक अकाउन्टमा एउटा नयाँ च्यालेन्ज सुरु गरेर एयरपड प्रोको विज्ञापन बनाउन थालेको छ। जसमा कयौँ टिकटक प्रयोगकर्ताहरुले आफ्ना भिडियोमार्फत् एयरपड प्रो प्रचार गरिरहेका छन्।
चार दिनअघि मात्र एप्पलले आफ्नो युट्युब च्यानलमा नयाँ एयरपड प्रोको ‘जम्प’ नामक विज्ञापन भिडियो बनाएको थियो। भिडियोमा एयरपड प्रो प्रयोग गरेपछि प्रयोगकर्ताले बाहिरी आवाजको हल्ला सुन्न नपर्ने र आफूलाई मनपर्ने गीत सुन्दै काम गर्न पाउने कम्पनीले देखाएको थियो। यहीँ भिडियोको आइडिया लिएर टिकटक प्रयोगकर्ताले साना भिडियो बनाउन थालेका हुन्।
टिकटकमा भएका भिडियोहरुमा विभिन्न टिकटक प्रयोगकर्ताले डोरी प्रयोग गरेर रमाइलो तरिकाले एयरपड प्रोको नोइज क्यासिलेसन फिचर देखाएका छन्। हरेक भिडियोको तल क्याप्सनमा ह्यास्ट्याग एयरपड्सजम्प लेखिएको छ।
एप्पलले हालसम्म आफ्नो टिकटक अकाउन्टमा छ वटा यस्ता भिडियो पोस्ट गरेको छ। कम्पनीले अन्य टिकटक प्रयोगकर्तालाई पनि रचनात्मक भएर यो च्यालेन्ज गर्न बताएको छ।
‘एयरपड प्रोले बाहिरी दुनियाँलाई खेल मैदानमा परिवर्तन गर्छ र यो समय रमाइलो गर्नको लागि हो,’ नयाँ एयरपड प्रोबारे बोल्दै एप्पलले भनेको छ, ‘प्रयोगकर्ताले एउटा डोरी लिएर गीतमा नाच्दै रचनात्मक हुन सक्नेछन्।’
सन् २०२० को अप्रिलमा एप्पलले आफ्नो आधिकारिक टिकटक अकाउन्ट बनाएको हो। एक वर्षको अवधिमा कम्पनीले आफ्ना उपकरणका चर्चा बढाउन यही प्लेटफर्म प्रयोग गरिरहेको छ।
गत नोभेम्बरमा पनि कम्पनीले आइफोन–१२ मिनीको प्रचार गर्न टिकटकमा च्यालेन्ज सुरु गरेको थियो।
अहिले एप्पलको टिकटक अकाउन्ट छ लाखभन्दा बढीले फलो गर्छन् र सो अकाउन्टले सात लाख पन्ध्र हजार लाइक्स कमाइसकेको छ।