नेपालमा फाइभजी सेवाको परीक्षण गर्नका लागि नेपाल टेलिकमले मात्र अनुमति पाउने भएको छ।
रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले नेपाल टेलिकमलाई मात्र फाइभजीको परीक्षण गर्न पाउने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्राविधिक मन्त्रीको संयोजकत्वमा रहेको समितिले नेपालमा पनि फाइभजी सेवाको परीक्षण अनुमति निर्णय गर्दै यसका लागि सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनीलाईमात्र दिने निर्णय गरेको हो।
परीक्षण अनुमतिको प्रक्रिया अघि बढाउन भन्दै नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ।
प्राधिकरण स्रोतका अनुसार सरकारले नेपाल टेलिकमलाई मात्र परीक्षणको अनुमति दिन र परीक्षणको क्रममा आवश्यक परे नि:शुल्क फ्रिक्वेन्सी पनि उपलब्ध गराउन निर्देशन दिएको छ।
'हामीलाई पठाइएको निर्णयमा नेपाल टेलिकमलाई आवश्यक परेको अवस्थामा नि:शुल्क फ्रिक्वेन्सीको व्यवस्था गर्न भनिएको छ,' स्रोतले भन्यो।
यसअघि नेपालमा फोरजीको सेवा सञ्चाल अनुमति पनि नेपाल टेलिकमले एक्लै पाएको थियो। सबैभन्दा पहिला फोरजी सेवा सञ्चालनको अनुमति पाए पनि टेलिकले अहिलेसम्म देशभर सेवा विस्तार गर्न सकेको छैन।
तर एक वर्षपछि अनुमति पाएको निजी क्षेत्रको सेवाप्रदायक एनसेलले अधिकांश ठाउँमा सेवा विस्तार गरिसकेको छ।