ट्रिनिटी कलेज डब्लिनका कम्प्यूटर विज्ञानका प्राध्यापकले गरेकाे अध्ययनले एन्ड्रोइड फोनले आइफोनको तुलानामा आफ्ना प्रयोगकर्ताको २० गुणा बढी डाटा गुगललाई दिने देखाएको छ।
अनुसन्धानकर्ता डग लेथका अनुसार दुबै आइओएस र एन्ड्रोइड फोनले प्रयोगकर्ताको डाटा संकलन गरेर एप्पल र गुगललाई पठाइरहेको हुन्छ। जसमा प्रयोगकर्ताले फोनमा सिम कार्ड राखेकोदेखि हार्डवेयर र एपहरु चलाएको सबै जानकारी समावेश हुन्छ।
यी डाटाहरु प्रयोगकर्ताले आफ्नो फोन लग नगरेको, प्राइभेसि सेटिङमा डाटा कलेक्सन अप्ट आउट भएको र ह्यान्डसेट निष्क्रिय भएको बेला संकलन हुने इन्ग्याजेटले बताएको छ।
आइओएस फोनले प्रयोगकर्ताको आइएमइआई, हार्डवेयर सिरियल नम्बर, सिम सिरियल नम्बर, फोन नम्बर, युडिआइडी र विज्ञापन आइडी, लोकेसन, टेलमेट्री, कुकिज, स्थानीय आइपी ठेगाना र वाइफाइ म्याक ठेगाना जस्ता जानकारीहरु एप्पललाई पठाउँछ।
एन्ड्रोइड फोनले पनि यी सबै डाटाहरु सहित प्रयोगकर्ताका अन्य थुप्रै वीस्तृत जानकारी गुगललाई पठाउने अनुसन्धानकर्ता डग लेथले बताएका छन्।
उनका अनुसन्धान अनुसार आइफोनले आफ्नो कम्पनीलाई ४२ केबी डाटा पठाउँछ भने, एन्ड्रोइडले एक एमबी डाटा गुगललाई पठाइरहेको हुन्छ। यो एप्पलको तुलानामा करिब २० गुणा बढी हो।
अमेरिकामा प्रत्येक १२ घण्टामा गुगलले आफ्ना प्रयोगकर्ताहरुबाट १.३ टिभी डाटा संकलन गर्ने अनुमान गरिएको छ। तर, एप्पलले त्यही अवधिमा मात्र ५.८ जिबी डाटा प्राप्त गरेको हुन्छ।
स्मार्टफोन कम्पनीहरुले प्रयोगकर्ताको डाटा संकलन गर्ने प्रविधि खतरनाक रहेको र सबैजना यसमा सचेत हुन लेथले सुझाएका छन्।