प्रयोगकर्ताले अब आफ्नो आइफोनबाट हराएका अन्य उपकरण खोज्न सक्ने भएका छन्।
सिएनबिसीका अनुसार बुधबार एप्पलले आइफोनमा रहेको ‘फाइन्ड माइ’ एप मार्फत् अरु कम्पनीका उपकरण खोज्ने फिचर ल्याउने घोषणा गरेको हो।
‘फाइन्ड माइ’ एपको काम गर्ने उत्पादनहरु अर्को हप्ता रिलिज गर्ने एप्पलले बताएको छ। जसमा भ्यानमोफ कम्पनीको इ–बाइक, बेलकीन कम्पनीको वायरलेस एयरबड र चिपोलो कम्पनीको आइटम फाइन्डर छ।
यी उत्पादनहरु हराएमा एप्पलको ‘फाइन्ड माइ’ एपबाट लोकेसन ट्रयाक गरेर पत्ता लगाउन सकिन्छ।
‘फाइन्ड माइ’ एप केही समयअघि मात्र एप्पलको वार्षिक विकासकर्ता सम्मेलनमा सार्वजनिक गरिएको थियो। यसभन्दा अगाडी आइफोनमा ‘फाइन्ड माइ आइफोन’ एप थियो, जसबाट प्रयोगकर्ताले आफ्नो हराएको आइफोनको लोकेसन ट्रयाक गरेर खोज्न सक्थे।
अबको नयाँ अपडेटेट एपले भने आइफोन मात्र नभइ एन्ड्रोइड कम्पनीका हराएका उपकरण पनि खोज्न सहज हुने सिएनबिसीको भनाइ छ।
प्रयोगकर्ताले आइफोनको ब्लुटुथ वायरलेस सिग्नल अन गरेर हराएका उपकरणकसँग नेटवर्क बनाएर त्यसको लोकेसन पत्ता लगाउन सक्छन्।
यो प्रक्रिया 'एन्ड–टु–एन्ड एन्क्रिप्टेड' भएकोले एप्पल र ‘फाइन्ड माइ’ एपका निर्माताले प्रयोगकर्ताको लोकेसन जानकारीबारे थाहा पाउँदैनन्। हराएका उपकरणका प्रयोगकर्ता र आइफोनका प्रयोगकर्तालाई त्यसको जानकारी हुने कम्पनीले बताएको छ।