एप्पलको अर्को नयाँ आइओएस १४.५ अबको केही दिनमा सार्वजनिक हुने भनिएको छ।
गत हप्ता मात्रै कम्पनीले आइफोन र आइप्याडमा हुने ‘बग’को समस्या हटाउन आइओएस १४.४.२ ल्याएको थियो। यससँगै एप्पलका उपकरणमा थुप्रै नयाँ फिचर थप गर्ने सोचका साथ एप्पलले आइओएस १४.५ को तयारी गरिरहेको फोर्ब्सले लेखेको छ।
एप्पलले यो संस्करणमा ल्याउने नयाँ अपडेटमध्ये मास्क लगाएर नै आइफोन अनलक गर्न मिल्ने फिचर नयाँ र उपयोगी छ। प्रयोगकर्ताले एप्पलको स्मार्टघडी मार्फत् मास्क लगाएर नै आफ्नो आइफोनको लक खोल्न सक्छन्। यसको लागि एप्पलको स्मार्टघडी र आइफोन एकआपसमा कनेक्ट हुन आवश्यक छ।
कोरोनाको महामारीमा प्रयोगकर्तालाई सार्वजनिक स्थलमा मास्क खोल्न असहज भएको कारणले कम्पनीले यस्तो फिचर बनाएको हो।
यसैगरी प्रयोगकर्ताले आफ्नो जानकारी कुनै एपलाई ट्रयाक गर्न दिने वा नदिने सुविधा एप्पलको अर्को महत्वपूर्ण अपडेटमा पर्छ।
मोबाइलमा हुने थुप्रै एपले ‘आइडेन्टीफाइर फर एडभरटाइजर’ नामक सफ्टवेयर प्रयोग गरेको हुन्छ, जसबाट ती एपले प्रयोगकर्तालाई ट्रयाक गरेर मोबाइलमा बिना अनुमति विज्ञापन देखाउने र व्यक्तिगत जानकारी अनलाइनमा बेचिरहेका हुन्छन्।
प्रयोगकर्ताको सुरक्षामा उठेको यो समस्यालाई समाधान गर्न आइओएस १४.५ अपडेटमा ‘एप ट्रयाकिङ ट्रान्सपरेन्सी’ सेवा ल्याएको छ। यसबाट कुनैपनि एपले आइफोन प्रयोगकर्तालाई ट्रयाक गर्न सक्दैन र त्यसको लागि प्रयोगकर्ताको अनुमति लिनु पर्ने हुन्छ।
एप्पलका उपकरणमा ब्याट्री छिटो सकिने समस्यालाई पनि कम गर्न यो नयाँ संस्करणमा ‘अटोमेटिक ब्याट्री रिकालिब्रेसन’ फिचर छ। प्रयोगकर्ताले यो फिचरबाट आफ्नो मोबाइल ब्याट्रीको क्षमता र पफर्मेन्सबारे विस्तृत जानकारी पाउनेछन्। यसरी उनीहरु ब्याट्री कति बेला चार्ज गर्ने भनेर अगाडी नै सूचित हुने फोब्र्सले बताएको छ।
आइओएस १४.५ मा दुई सयभन्दा बढी नयाँ इमोजी पनि थपिने छ। यो पटक एप्पलले फरक लिंग र रंग भएका सबै व्यक्तिको इमोजी समावेश गरेको छ।
अबको नयाँ संस्करणमा आइफोन सिरीको आवाज महिलाको मात्रै नहुने भएको छ। सिरी एप्पलको स्मार्ट भ्वाइस असिस्टेन्ट हो। यो फिचरबाट प्रयोगकर्ताले बोलेर आइफोनभित्रको सबै काम गर्न सक्छन्।
एप्पलले हरेक पटक महिला आवाजलाई सिरी असिस्टेन्टको रुपमा प्रयोग गर्दै आएको छ, तर अब सिरीमा दुई नयाँ आवाज थपेर प्रयोगकर्तालाई सेटअपमा आफुलाई मनपर्ने आवाज छनौट गर्न मिल्ने बनाइएको छ।
कम्पनीले आइफोनको दुवै सिमको लागि ५–जी नेटवर्क समर्थन गर्ने फिचर पनि आइओएस १४.५ को अपडेटमा ल्याएको छ।
यसबाहेक यो नयाँ संस्करणमा अन्य थुप्रै अपडेट आउनेछ। प्रयोगकर्ताले आइफोनको सेटिङमा गएर आइओएस १४.५ संस्करण डाउनलोड गर्न सक्छन्।