नयाँ स्मार्टफोन किन्दा केही सानो पार्ट बिग्रिएको रहेछ भने प्राय त्यसलाई फिर्ता गरेर अर्को उपकरणको माग गरिन्छ। तर, हालै प्रिन्ट लोगो बिग्रिएको आइफोन भने हजारौँ अमेरिकी डलरमा बिक्री भएको छ।
एप्पलको लोगोलाई गलत तरिकाले प्रिन्ट गरिएको आइफोन–११ प्रो दुई हजार सात सय अमेरिकी डलरमा बिक्री भएको एप्पल इन्साइडरले उल्लेख गरेको छ।
गत शुक्रबार ‘इन्टरनल आर्काइभ’ नामक ट्वीटर अकाउन्टले एप्पलको यो जानकारी सार्वजनिक गरेको थियो। ‘इन्टरनल आर्काइभ’ले एप्पलका प्रोटोटाइप विवरणबारे खोज अनुसन्धान गरिरहेको हुन्छ।
एप्पल इन्साइडरका अनुसार सो आइफोन–११ प्रोमा एप्पलको लोगो पुरानो ठाउँमा भन्दा अलिकति तलतिर परेको छ। उपकरणमा लोगो प्रिन्ट गर्नुअघि मेसिनमा प्यानल राम्रोसँग नराखिएको कारण यस्तो निर्माण उत्पादनमा त्रुटी हुने गर्छ।
आइफोनमा एप्पलको प्रिन्ट बिग्रिएर आउनु निकै विरलै घटना रहेको ‘इन्टरनल आर्काइभ’ले बताएको छ। यस्तो गल्ती दश करोड उपकरणमध्ये एउटामा मात्रै हुन्छ।
एप्पलले आफ्ना उत्पादन बजारमा पठाउनु अघि गुणस्तर जाँचको कठोर प्रक्रिया पुरा गरिरहेको हुन्छ। यस्तो व्यवस्थित प्रक्रियापछि पनि बिग्रिएको लोगो भएको आइफोन कसरी बजारमा पुग्यो भन्ने कुरा प्रश्नको विषय भएको छ।
गलत प्रिन्ट गरिएको आइफोन–११ प्रो कहिले र कसरी दुई हजार सात सय अमेरिकी डलरमा बिक्री भयो भनेर स्पष्ट भने नभएको एप्पल इन्साइडरले जनाएको छ।