५० वर्षमा लागेको खडेरीपछि ताइवानको तालमा एक वर्षदेखि हराएको आइफोन भेटिएको छ।
गत वर्षको मार्चमा ताइवानका चेनले ‘सनमुन’ तालमा आफ्नो आइफोन–११ प्रो म्याक्स हराएका थिए। उनले फोन वाटरप्रुफ प्लास्टिक थैलीभित्र राखेका थिए। थैलीसहित फोन पानीमा खसेको एप्पल इन्साइडरले लेखेको छ।
'आइफोन हराएको एक वर्ष बितिसक्दा फेरी भेट्टाउने कुनै अपेक्षा थिएन', चेनले भनेका छन्।
केही दिनअघि मात्रै उनले आफ्नो आइफोन भेटिएको खबर पाएका हुन्। सनमुन ताल पुरै सुकेको हुनाले हराएको आइफोन सजिलै खोज्न सकिएको हो।
एप्पल इन्साइडरका अनुसार सो ताल पछिल्लो ६० देखि ५० वर्षमा सुकेको थिएन, त्यसैले चेनको लागि यो निकै दुर्लभ अवसर थियो। उनले फोन पाएको केही समयमा नै तालमा पानी पुन भरिएको छ।
एक वर्षसम्म आइफोन पानीमा रहँदा पनि राम्रो अवस्थामा छ। पूर्ण रुपमा चार्ज गरेपछि फोन पुरानै तरिकाले चलेको चेनले बताएका छन्।
लामो समयसम्म पानीमा खसेको आइफोन राम्रो अवस्थामा भेटिएको घटनाहरु बढिरहेको छ।
गत मार्चमा एक महिलाले तीस दिनसम्म जमेको पानीमा खसेको आइफोन पाउन सफल भएकी थिइन्। त्यस्तै एक व्यक्तिले ब्रिटिस कोलम्बीया तालमा छ महिनासम्म हराएको आइफोन–११ पनि राम्रै अवस्थामा भेटाएका थिए।
एप्पलले आफ्ना आइफोन वाटरप्रुफ बनाउन थालेको हुनाले यी उपकरण पानीमा लामो समयसम्म डुब्दापनि केही नभएको एप्पल इन्साइडरले उल्लेख गरेको छ।