एप्पलको नयाँ उपकरण अब ६ दिनमै सार्वजनिक हुने भएको छ। एप्पलले यही अप्रिल २० मा आफ्ना उपकरणहरु सार्वजनिक गर्ने घोषणा गरेको हो।
स्प्रिङ लोडेड नाम दिइएको कार्यक्रममा एप्पलले नयाँ आइप्याड, म्याक र एयरट्याग सार्वजनिक गर्नसक्ने इन्ग्याजेटले लेखेको छ।
केही महिनाअघि एप्पलको कार्यक्रम मार्चमा हुने अनुमान गरिएको थियो, तर बुधबार कम्पनीले प्रेस रिलिज मार्फत् भर्चुअल कार्यक्रम अप्रिल २० मा हुने बताएको हो।
कार्यक्रममा एप्पलले लामो समयदेखि चर्चामा आइरहेको उपकरण एयरट्याग ल्याउन सक्ने रिर्पोटले अनुमान गरेको छ। एयरट्याग चुम्बकिय उपकरण हो।
प्रयोगकर्ताले एयरट्याग आफ्ना ल्यापटप, आइप्याड वा जुनसुकै उपकरणसँग जोड्न सक्छन्। यदि ती उपकरण हराएमा आइफोनबाट सजिलै भेटाउन सकिन्छ।
यसैगरी कम्पनीले नयाँ अपडेटेट आइप्याड प्रो र आइप्याड मिनी पनि सार्वजनिक गर्ने अपेक्षा गरेको छ।
इन्ग्याजेटका अनुसार एप्पलले यसपटक २४ इन्च डिस्प्ले भएको एप्पल सिलिकन म्याक ल्याउन सक्नेछ। यो म्याकमा एम–१ प्रोसेसर र साथै थुप्रै नयाँ रंगमा उपलब्ध हुनेछ। अर्को १४ इन्च डिस्प्ले भएको म्याकबुक प्रो पनि कार्यक्रममा देख्न सकिनेछ।
एयरपड्समा एप्पलले याेपटक नयाँ एयरपड्स–३, एयरपड्स प्रो लाइट र एयरपड्स एक्स ल्याउन सक्छ। एप्पलका विश्लेषक मिङ–ची कुओका अनुसार कम्पनीले एयरपड्स–३ सन् २०२१ को अन्तिमतिर मात्र सार्वजनिक गर्नेछ।
यी सबै अनुमान गरिएका नयाँ उपकरणसँगै कम्पनीले एप्पल टिभी र एप्पल कार्डबारे पनि कार्यक्रममा खुलासा गर्न सक्ने इन्ग्याजेटले जनाएको छ।
नेपाली समय अनुसार कार्यक्रम रातीको दश बजेबाट सुरु हुन्छ। सो भर्चुअल कार्यक्रममा दर्शकको उपस्थिति भने हुने छैन।