एप्पलले यस वर्ष सार्वजनिक गर्ने नयाँ आइफोन बजारमा अझै केही दिन बाँकी छ। तर, सन् २०२२ मा आउने आइफोन कस्तो हुनेछ भन्नेबारे अनुमान लगाउन सुरु भइसकेको छ।
एप्पलका विश्लेषक मिङ–ची कुओका अनुसार अर्को वर्ष सार्वजनिक हुनसक्ने ‘आइफोन–१४’का मोडलमा ४८ मेगापिक्सलको क्यामरा हुनेछ।
कम्पनीले आइफोन–१३ सार्वजनिक गर्ने तयारी गर्दैगर्दा प्रयोगकर्ताबीच आइफोन–१४ प्रो र आइफोन–१४ प्रो म्याक्सको प्रतिक्षा बढिरहेको एप्पल इन्साइडरले बताएको छ। यी आइफोनमा मुख्यगरी वाइड एंगल क्यामराको विशेषता हुनेछ।
आइफोन–१४ मा आउने यी फिचर आइफोन–१२ र आइफोन–१३ भन्दा गुणस्तरीय हुने अनुमान छ।
यसैगरी अर्को वर्ष आउने आइफोनमा ८–के भिडियो रेकर्डिङ गर्न सकिने छ। अर्थात् प्रयोगकर्ताले आइफोनबाट हाइ रिजोलुसनको भिडियो खिच्न सक्नेछन्।
आइफोनका नयाँ क्यामरा सेन्सर बाहेक विश्लेषक कुओले सन् २०२२ मा आइफोन मिनीको उत्पादन बन्द हुने बताएका छन्।
एप्पलका प्रशंसकका यी सबै अनुमानबारे कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन। आगामी वर्षसम्म कम्पनीले नयाँ परिवर्तनसहित आइफोन–१४ ल्याउने अपेक्षा गरिएको छ।