आइफोन–१२ को बक्समा पावर एडेप्टर नराख्ने निर्णयले आठ लाख ६१ हजार टन तामा, जिंक र टिन जस्ता धातु बचत भएको एप्पलले बताएको छ।
गत वर्षदेखि एप्पलले वातावरण संरक्षणलाई ध्यानमा राखेर आफ्ना नयाँ आइफोनका बक्सबाट चार्जर र एडेप्टर हटाउने नियम लागू गरेको थियो।
यो नयाँ नियमसँगै धातुको प्रयोग कम भएको हो। एडेप्टर नभएको आइफोन बक्स प्याकेजिङ सानो पनि हुने भएकोले जहाजबाट अरु देशमा पठाउन कम्पनीलाई सहज भएको इन्ग्याजेटले लेखेको छ।
धातुहरु बचत भएको तथ्य एप्पलले आफ्नो २०२१ वातावरणीय प्रगति रिर्पोट अन्तर्गत दाबी गरेको हो।
‘एक कम्पनीको रुपमा हामी आफ्नो ग्रह र यहाँको प्राणीको लागि अझ सफा, स्वस्थ भविष्य निर्माण गर्न अघि बढेका छौँ,’ एप्पलका वातावरण, नीति तथा सामाजिक पहलका उपाध्यक्ष लिसा ज्याक्सनले भनिन्, ‘सन् २०२० मा आइफोनको बक्सबाट एडेप्टर हटाएर जलवायु परिवर्तन विरुद्धको हाम्रो प्रयास सफल भयो।
एप्पलले वातावरणमा कार्बनको संख्या घटाइरहेको छ, र सन् २०३० सम्म कार्बनको उत्पादन पूर्ण रुपमा समाप्त पार्न हामी प्रतिबद्ध छौँ।’
कम्पनीले केही समययता आफ्ना उपकरणहरु पुन प्रयोग भएका सामग्रीबाट उत्पादन गरिरहेको छ।
एप्पलले रेटिना डिस्प्ले सहितको म्याकबुक एयर ४० प्रतिशत पुन प्रयोग भएको सामग्रीबाट बनाएको थियो। यसैगरी आइफोन–१२ र एप्पल वाच सिरिज–६ पनि ९९ प्रतिशत पुन प्रयोग भएको सामग्रीबाट निर्माण गरिएको इन्ग्याजेटको भनाइ छ।