एप्पलले यस वर्षको लागि आफ्ना नयाँ उपकरण सार्वजनिक गरेको छ।
मंगलबार अमेरिका, क्यालिफोर्नियास्थित एप्पल पार्क क्याम्पसको स्टिभ जब्स थियटरमा आयोजित ‘स्प्रिङ लोडेड लन्च इभेन्ट’मार्फत् एप्पलले विभिन्न नयाँ उपकरण सार्वजनिक गरेको हो।
यसपटक एप्पलले आइफोनलाई मात्र ध्यान दिएको छैन। केही समययता आइफोन–१३ आउने हल्ला चलेपनि कम्पनीले नयाँ आइफोन बिना नै कार्यक्रम आयोजना गरेको इन्ग्याजेटले लेखेको छ।
कम्पनीले कार्यक्रममा पुराना उपकरणलाई अपडेट गरेर नयाँ ग्याजेट पनि थपेको देखिन्छ।
भर्चुअल माध्यमबाट सार्वजनिक भएका एप्पलका नयाँ उपकरणहरु यस्ता छन्,
आइम्याक
प्रयोगकर्ताको मुख्य आकर्षण नयाँ आइम्याकमा परेको छ। यो आइम्याकमा २४ इन्चको डिस्प्ले छ र आकर्षत रङमा उपलब्ध छ। यसमा भएको एम–१ चिपले आइम्याक अझ राम्रोसँग चल्ने छ र उपकरणबाट आवाज आउने र चाडैँ तात्ने समस्या हुँदैन।
आइम्याकमा टच आइडीको फिचर छ। यो उपकरण अप्रिल २० देखि बजारमा आइसकेको छ। यसको मूल्य एक हजार दुई सय ९९ अमेरिकी डलर तोकिएको छ।
आइप्याड प्रो
एप्पलले नयाँ आइप्याड प्रो दुई आकारमा ल्याएको छ, जुन ११ इन्च डिस्प्ले र १२.९ इन्च डिस्प्लेमा उपलब्ध छ। यो आइप्याड प्रोमा नयाँ मिनी एलइडी डिस्प्ले छ। विशेषगरी यसको डिस्पले नयाँ फिचर सहित काम गरेको छ।
कम्पनीले आइप्याड प्रोमा पनि आफ्नो फ्ल्यागसिप सिलिकन प्रयोग गरेको छ। यो उपकरणमा ५–जी र थन्डरबोल्ट कनेक्टिभिटी फिचर छ।
आइप्याड प्रो दुई मोडल अप्रिल ३० देखि बिक्रीमा हुनेछ। एप्पलले ११ इन्चको आइप्याड प्रोको मूल्य सात सय ९९ अमेरिकी डलर र १२।९ इन्चलाई एक हजार ९९ सय अमेरिकी डलर तोकेको छ।
एयर ट्याग
दुई वर्षको लामो हल्लापछि एप्पलले बल्ल आफ्नो नयाँ उपरकण एयर ट्याग सार्वजनिक गरेको छ।
एयर ट्यागबाट आइफोन प्रयोगकर्ताले आफ्ना हराएका उपकरणहरु भेटाउन सक्छन्। यदि कुनै उपकरणमा एयर ट्याग जोडिएको छ र पछि त्यो उपकरण हराएमा आइफोनमा हुने ‘फाइन्ड माइ’ फिचरबाट त्यसको स्थान पत्ता लगाउन सकिन्छ।
एयरट्यागबाट प्रयोगकर्ताले सो सामान कता छ भनेर सजिलै थाहा पाउनेछन्। उपकरण हराइरहने समस्यालाई कम गर्न एप्पल यस्तो नयाँ आविष्कार गरेको हो।
एउटा एयर ट्यागको मूल्य २९ अमेरिकी डलर छ। चारवटा एयरट्याग किन्दा मूल्य ९९ अमेरिकी डलर पर्ने कम्पनीले बताएको छ।
एप्पल टि.भी
नयाँ एप्पल टि.भीमा ए–१२ बायोनिक फिचर छ जसबाट एचडिआर भिडियो हेर्न सकिन्छ। एप्पलले टिभीओस फिचर पनि ल्याएको छ।
यसरी प्रयोगकर्ताले आफ्नो आइफोनबाट नै टि।भी स्क्रिनको रङ इच्छाअनुसार मिलाउन सक्नेछन्।
कम्पनीले एप्पल टि.भीको रिमोट पनि पुन डिजाइन गरेको छ।
रिमोटमा भएको नयाँ क्लिक फिचरबाट हामीले आफूलाई मनपर्ने फिल्म वा कार्यक्रमको कुनैपनि दृश्य सजिलै पत्ता लगाउन सक्छौँ।
यो नयाँ एप्पल टि।भीको मूल्य एक सय ७९ अमेरिकी डलर छ भने यसको रिमोटको मूल्य ५९ अमेरिकी डलर पर्नेछ।