एप्पलले आइफोन र आइप्याडको लागि नयाँ आइओएस १४.५ र आइप्याडओएस १४.५ र एप्पल घडीको लागि वाचओएस ७.४ सार्वजनिक गरेको छ।
यो संस्करण अपडेटमा एप्पलले थुप्रै नयाँ फिचरहरु ल्याएको जीएसएम एरेनाले बताएको छ।
आइओएस १४.५ र वाचओएस ७.४ अन्तर्गत प्रयोगकर्ताले मास्क लगाएर नै एप्पल घडीबाट आफ्नो आइफोन अनलक गर्न सक्नेछन्। यसको लागि आइफोनको सेटिङमा ‘अनलक वीथ एप्पल वाच’ विकल्प थपिएको छ।
कोरोनाको महामारीमा प्रयोगकर्तालाई सार्वजनिक स्थलमा मास्क खोल्न असहज भएको कारण कम्पनीले यस्तो फिचर बनाएको हो।
अर्को महत्वपूर्ण अपडेटमा प्रयोगकर्ताले आफ्नो जानकारी कुनै एपलाई ट्रयाक गर्न दिने वा नदिने सुविधा पनि छ।
‘एप ट्रयाकिङ ट्रान्सपेरेन्सी’ फिचर डाउनलोड गरेपछि एपले विज्ञापन देखाउनु वा डाटा लिनु अघि प्रयोगकर्ताको अनुमति लिनु पर्ने हुन्छ।
आइओएस १४.५ ले एप्पलको नयाँ उपकरण ‘एयरट्याग’लाई समर्थन गर्ने जीएसएम एरेनाले लेखेको छ।
कम्पनीले सिरीमा १४ वटा विभिन्न आवाज पनि थपेको छ। सिरी एप्पलको स्मार्ट भ्वाइस असिस्टेन्ट हो। यो फिचरबाट प्रयोगकर्ताले बोलेर आइफोनभित्रको सबै काम गर्न सक्छन्।
यसैगरी आइफोनमा ब्याट्री छिटो सकिने समस्यालाई कम गर्न नयाँ संस्करणमा ‘अटोमेटिक ब्याट्री रिकालिब्रेसन’ फिचर छ।
प्रयोगकर्ताले यो फिचरबाट आफ्नो मोबाइल ब्याट्रीको क्षमता र पफर्मेन्सबारे विस्तृत जानकारी पाउने छन्। यसरी उनीहरु ब्याट्री कतिबेला चार्ज गर्ने भनेर अगाडि नै सूचना पाउँछन्। यो फिचर आइफोन–११ सिरिजमा उपलब्ध हुनेछ।
यस अपडेटका अन्य सुधारमध्ये थप नयाँ इमोजी, पोडकास्ट एप र ५–जी नेटवर्क छ।
प्रयोगकर्ताले आइफोनको सेटिङमा गएर नयाँ आइओएस १४.५ संस्करण डाउनलोड गर्न सक्छन्।