दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसङ नयाँ स्मार्टफोन बनाउने तयारीमा लागेको छ।
गिकबेन्च नामक वेबसाइटले सामसङको नयाँ स्मार्टफोनबारे जानकारी दिएको हो। सो वेबसाइटका अनुसार कम्पनी ‘ग्यालेक्सी एम–३२’को उत्पादनमा काम गरिरहेको छ।
‘ग्यालेक्सी एम–३२’लाई पुरानो मोडल ‘ग्यालेक्सी ए–३२’ कै संस्करणको रुपमा लिइएको छ। ‘ग्यालेक्सी ए–३२’ केही समय अघि मात्र नेपालमा सार्वजनिक भएको थियो।
हिन्दुस्तान टेकका अनुसार ‘ग्यालेक्सी एम–३२’ एन्ड्रोइड–११ सफ्टवेयरमा चल्ने छ र यसमा मिडियाटेक हेलियो जी–८० प्रोसेसर हुनेछ।
यो फोनमा ६ जिबी र्याम र ६ हजार एमएएच ब्याट्री पावर हुने रिर्पोटले बताएको छ।
‘ग्यालेक्सी ए–३२’ स्मार्टफोनसँग तुलना गर्दा ‘ग्यालेक्सी एम–३२’मा भएका फिचर मिल्दोजुल्दो छ।
‘ग्यालेक्सी ए–३२’मा पनि मिडियाटेक हेलियो जी–८० प्रोसेसर र ६ जिबी र्याम उपलब्ध छ, तर यो फोनमा जम्मा ५ हजार एमएएच ब्याट्री पावर छ।
यसैगरी ‘ग्यालेक्सी ए–३२’मा ६.४ इन्चको एचडी इन्फिनिटी–यू एसएमोलेड डिस्प्ले छ। यो स्मार्टफोनमा चार क्यामरा छन्। ६४ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रावाइड लेन्स, ५ मेगापिक्सलको म्याक्रो लेन्स र ५ मेगापिक्सलको डेप्थ सेन्सर। यसको सेल्फी क्यामरा भने २० मेगापिक्सलको छ।
‘ग्यालेक्सी ए–३२’मा जसरी नयाँ ‘ग्यालेक्सी एम–३२’ पनि यिनै फिचरका साथ आउने अपेक्षा गरिएको छ।
सामसङले भने हालसम्म ‘ग्यालेक्सी एम–३२’को सार्वजनिक मितिबारे केही जानकारी दिएको छैन।